close

माथिल्लो कर्णालीका ३ हजार घर जस्तापाताले टल्किँदै 

माथिल्लो कर्णालीका ३ हजार घर जस्तापाताले टल्किँदै 

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेशको माथिल्लो कर्णालीका ५ जिल्लाका २ हजार ९ सय ९५ घरका छाना फेरिने भएका छन् । विपन्न नागरिकको घरको माटाको छानामुक्त बनाउने सरकारी अभियानअन्तर्गत कर्णालीका २ हजार ९ सय ९५ विपन्नको घरमा जस्तापाता राख्न लागिएको हो ।

 

सघन सहरी तथा भवन निर्माण कार्यालय जुम्लाको आवास व्यवस्थापन कार्यक्रमअन्तर्गत कर्णालीका जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा १४ करोड ९७ लाख ५० हजार रुपैयाँको लगानीमा २ हजार ९ सय ९५ घरधुरीमा जस्तापाता राख्ने तयारी भइरहेको कार्यालयका सबइन्जिनियर चन्द्र खड्काले बताए । 


उनका अनुसार साविक कर्णालीका ५ वटै जिल्लाका २९ स्थानीय तहमा विपन्न नागरिकको तथ्यांक संकलन भइरहेको छ । विपन्न नागरिक नछुट्ने गरी छनोट गरेर स्थानीय तहमै बजेट पठाइनेछ । प्रतिघरले छाना फेर्न ५० हजार रुपैयाँ पाउनेछन् । 


उनले भने, ‘ग्रामीण क्षेत्रका अधिकांश विपन्न नागरिकका माटोको छाना भएका घर चुहिन्छन् । न्यानोका दृष्टिले माटोका छानो भएका घर उपयुक्त भए पनि पानी पर्दा चुहिने हुन्छ । त्यसैले जस्तापाता हाल्न नागरिकको आकर्षण देखिएको छ ।’

 

प्रतिघरधुरीलाई ५० हजार रुपैयाँका दरले दिँदा ५ जिल्लाका २ हजार ९ सय ९५ घरका लागि करिब १४ करोड ९७ लाख रुपैयाँ बजेट जस्तापातामा लगानी गरिने सबइन्जिनियर खड्काले जानकारी दिए ।

 

कर्णाली प्रदेश सरकारको विपन्नका घर माटो तथा खरको छानामुक्त बनाउने कार्यक्रमअन्तर्गत साविक कर्णालीका ५ जिल्लामा आवास व्यवस्थापन कार्यक्रम सञ्चालन भएको छ । 

 

कुन जिल्लामा कति बजेट 


विपन्न नागरिकको आवास व्यवस्थापन कार्यक्रमअन्तर्गत १४ करोड ९७ लाख रुपैयाँ बजेट लगानीमा साविक कर्णालीका २ हजार ९ सय ९५ घरको छाना फेरिँदै छ । यसमध्ये जुम्लामा ५ सय ६, डोल्पामा ५ सय १२, कालीकोटमा ९ सय ६, मुगुमा ५ सय ६४ र हुम्लामा ५ सय ७ गरी साविक कर्णालीका ५ जिल्लामा २ हजार ९ सय ९५ घरधुरीका छाना फेर्ने तयारी भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जूम्लाले जनाएको छ । 


कालीकोटमा ९ सय ६ घरमा जस्तापात हाल्न सबैभन्दा बढी २ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ भने जुम्लामा २ करोड ५३ लाख, डोल्पामा २ करोड ५६ लाख, मुगुमा २ करोड ८२ लाख र हुम्लामा २ करोड ५३ लाख ३० हजार गरी जम्मा १४ करोड ९७ लाख ५० हजार रुपैयाँ लागत रहेको छ ।