close

बिमका पहिरोपीडितको आवास धमाधम निर्माण हुँदै

बिमका पहिरोपीडितको आवास धमाधम निर्माण हुँदै

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिमका पहिरोपीडितको आवास पुनः निर्माण सुरु भएको छ । गाउँपालिका, प्रवासी, दाताको सहयोगमा पीडित आफैं घर निर्माणमा जुटेका हुन् ।
 

जग्गा भएकाले आफैं र नभएकाका लागि जग्गा खोजेर आवास पुनर्निर्माण सुरु गरेको वडा नम्बर ७ का वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए ।

 

‘तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ वटा घर भत्किएका थिए’, उनले भने, ‘बाइन्दफाँटमा २ वटा घर बनिसके । १८ वटा निर्माणाधीन छन् । बाँकीले पनि बनाउने तयारी गरेका छन् ।’ 


घरबास गुमाएकामध्ये १ जनाको काठमाडौंमा घर छ । वैशाखभित्रै २२ वटा घर निर्माण सकेर पीडितलाई सुरक्षित बास ब्यवस्था मिलाउन जुटेको वडाध्यक्ष जुग्जालीले बताए । 


लुरवाङमा ३ वटा, अर्गलामा ४ वटा र तल्लोगाउँमा १ वटा पहिरोपीडितले आफ्नै स्रोतले घर निर्माण थालेका छन् । अन्यत्र जग्गा नभएकालाई बिमको तल्लोगाउँस्थित तल्लोबोटमा जग्गा खरिद गरेर घर निर्माण सुरु गरिएको छ ।


बिम मालिका संघले २० लाख रुपैयाँमा खरिद गरेको ५ रोपनी जग्गामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले १० वटा घर निर्माण थालेको छ । पहिरोपीडितको एकीकृत बस्तीमा गाउँपालिकाले खानेपानी, सडक र बिजुली व्यवस्थापन गर्नेछ । 


बिमका पहिरोपीडितको घर पुनर्निर्माण गर्न इन्द्रेणी सांस्कृतिक समूहले उपलब्ध गराएको २७ लाख, वडा कार्यालयको विपद् व्यवस्थापन कोषमा संकलित ३ लाख र बिम मालिका संघले ४० लाख रुपैयाँ परिचालन गर्नेछन् । 


गाउँपालिकाले प्रतिपरिवार १ लाख रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको छ । ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णयअनुसार पहिलो चरणमा सबैलाई १ लाखका दरले पेस्की उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ । 


संघीय सरकारले गत महिना हिमाली जिल्लाका पहिरोपीडितलाई घर पुनर्निर्माण गर्न ५ लाख रुपैयाँका दरले अनुदान दिने कार्यविधि ल्याएको छ । सरकारको अनुदानको आश गर्दा ढिला र झन्झट हुने भएकाले दाताको सहयोगका साथै आफ्नै स्रोतबाट घर निर्माण सुरु गरेको पीडितले बताए ।

 

गत असारमा पहिरोले घर पुरिएपछि आफन्तलाई कोठा मागेर बसेकी बिमकी लालदेवी दर्जी बर्खाअघि नै घर पाउने आशमा छिन् । ‘भएको घरजग्गा पहिरोले खाएपछि आफन्तकहाँ बसेकी थिएँ’, उनले भनिन्, ‘घर पाउने भएपछि खुसी लागेको छ ।’ 

 

अस्तवाङका दुर्गा दर्जीले जतिसक्दो छिटो आफ्नै घर बनाएर सर्ने तयारीमा जुटेको बताए । पहिरोले बिममा ७ जनाको मृत्यु र १ जना बेपत्ता भएका थिए । जिल्लाभर पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए । 

 

८१ वटा बस्तीमा पहिरोका कारण क्षति भएका २ सय ४७ र जोखिममा परेका ८ सय २१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । पूर्ण क्षति भएकामध्ये म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले जुटाएको २ करोड रुपैयाँबाट बिमसहित जिल्लाभर ४० वटा घर पुनर्निर्माण सुरु गरेको सदस्य दल शेरपुञ्जाले बताए । 


‘मालिकाको बिममा १०, धवलागिरिको मराङमा १०, धारापानीमा ४, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४/४ वटा घर बनाउन पालिकासँग समन्वय भएको छ’, उनले भने, ‘५ लाख रुपैयाँभित्र ३ कोठे घर र एउटा शौचालय बनाएर उपलब्ध गराउँछौँ ।’


पहिरोले सबैभन्दा धेरै क्षति पुगेको धवलागिरि गाउँपालिका वडा नम्बर ६ मराङका पहिरोपीडितका लागि पनि अस्कारेमा १२ रोपनी र राम्चेमा १७ रोपनी जग्गा खरिद गरेर सम्याइएको छ । 

 

वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा संकलित करिब ६० लाख रुपैयाँबाट जग्गा खरिद गरिएको हो । वडाध्यक्ष राजाराम सुवेदीले प्रतिरोपनी २ लाख रुपैयाँका दरले जग्गा खरिद गरिएको जानकारी दिए ।


१० आनाभन्दा कम जग्गा दाताले निःशुल्क दिएका छन् । मराङको राम्चे, रिखा, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा पहिरोका कारण १९ जनाको मृत्यु र २ जना बेपत्ता भएका थिए । 


२३ वटा घर पहिरोमा पुरिएका र बगेका थिए । कुम्रीस्थित वडा कार्यालय रहेको सामुदायिक भवन पनि पहिरोले बगाएको थियो ।