close

उदयपुर ट्राफिकको तर्फबाट नमस्कार !

उदयपुर ट्राफिकको तर्फबाट नमस्कार !

Trulli
ADVERTISEMENT

उदयपुर- सवारी दुर्घटना न्यूनीकरण गर्न उदयपुरमा ट्राफिक प्रहरीले नमस्कार अभियान थालेको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टारले सवारी चालकलाई लक्षित गरी नमस्कार अभियान थालेको हो ।

 

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको निर्देशनअनुसार सो अभियान थालिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टारले जनाएको छ । 

 

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारस्थित मदन भण्डारी लोकमार्गमा ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार गरेर अभियान सुरु भएको छ ।

 

सवारी नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्नुभन्दा पहिले नमस्कार गरेर सवारी नियमबारे जानकारी दिने उद्देश्यले अभियान थालिएको हो । प्रदेश १ लाई प्रेसर हर्न निषेधित र दुर्घटनारहित प्रदेश बनाउने अभियानअन्तर्गत यस्तो अभियान सुरु भएको हो । सवारी चालकलाई ट्राफिक नियम उल्लंघन गर्दा हुने क्षतिबारे जानकारी गराएर नमस्कार गरिनेछ। 

 

अभियान कार्यान्वयन गर्न इलाका प्रहरी कार्यालय बेल्टारको सहयोगमा अस्थायी ट्राफिक पोस्ट बेल्टारबाट खटिएको ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कानुनी कारबाही गर्नुअघि नमस्कारले स्वागत गर्नेछ ।

 

पहिलो चरणमा नियम उल्लंघन गरे पनि सम्झाई-बुझाई गर्ने र ट्राफिक नियम पालना गर्न आग्रह गरिनेछ । ट्राफिक प्रहरीको सम्पर्कमा आउने सबै नागरिकलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान प्रकट होस् भनेरै नमस्कार सुरु सुरु गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


अस्थायी ट्राफिक प्रहरी पोस्ट बेल्टारका इन्चार्ज उमेश चौधरीका अनुसार नेपालीको संस्कार नमस्कार गर्ने भएकाले यसलाई पुनर्जागरण गर्न वा ट्राफिक प्रहरी र नागरिकबीच एकआपसमा सुमधुर सम्बन्ध राख्न यो अभियान थालिएको हो । 

 

सवारी चालकले गल्ती गर्नुहुँदैन भन्ने भाव बुझून् भनेर यो अभियान सुरु गरेका हौँ,’ ट्राफिक पोस्ट रामपुरका चन्द्र बुढाथोकीले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच एकआपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्वअनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।’ 

 

सडक दुर्घटना न्यूनीकरणका लागि बेलकाका विभिन्न ठाउँमा इलाका प्रहरी रामपुर र ट्राफिक कार्यालय रामपुरले ब्यारिकेट तथा जनचेतनामूलक बोर्ड राखेका छन् ।