close

१२ घण्टाका २० खबरः १४ खुसी, ६ दुःख (भिडियो खबर)  

१२ घण्टाका २० खबरः १४ खुसी, ६ दुःख (भिडियो खबर)  

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) पाल्पाको बगनासकाली गाउँपालिका फुसको छानारहित पालिका घोषणा, २ सय ५२ घरलाई जस्तापाता सहयोग गरेपछि सिंगो गाउँपालिका फुसको छानोरहित बन्यो । 

 

२) सल्यानको कालीमाटी गाउँपालिकामा पहिलो पटक पुग्यो बिजुली, गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीद्वारा उद्घाटन, वर्षौंदेखि वैकल्पिक ऊर्जा प्रयोग गर्दै आएका स्थानीय बिजुली बत्तीको प्रयोग गर्न पाउँदा खुसी । 


३) बजेट अभावले डडेलधुराको अमरगढी नगरपालिकामा कभर्ड हल अलपत्र अवस्थामा, ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल भत्किएपछि जीर्णोद्धारमा कसैको पुगेन ध्यान । 


४) तनहुँको शुक्लागण्डकी नगरपालिका-१ र २ नम्बर वडा जोड्न गुबेखोलामा पुल निर्माण हुँदै, अब स्थानीयलाई आवतजावतमा सहज हुने । 


५) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-५ मा रहेको जनता माध्यमिक विद्यालयका शिक्षकले तलब नपाएपछि विद्यार्थीले नै लगाए विद्यालयमा ताला, पठनपाठन ठप्प । 


६) लमजुङको दोर्दी गाउँपालिका-५ पाचोक गाउँमा पहिलो पटक पुग्यो केन्द्रीय प्रसारण लाइन, बत्ती बाल्न पाउँदा स्थानीय दंग 


७) विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका-४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द, पठनपाठन प्रभावित ।


८) सिन्धुलीको दूधौली नगरपालिका-१३ अरुणडाँडामा पहिलो पटक पुग्यो गाडी, गाडी पुगेपछि स्थानीयले खुसी हुँदै चालकलाई लगाइदिए माला ।


९) म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण व्यवसायीले सम्झौता र मापदण्डविपरीत उपकरण प्रयोग गरेर नदीजन्य वस्तुको उत्खनन, स्थानीय प्रशासन र नगरपालिका मौन ।


१०)  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गर्ने, सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माणका लागि नगरपालिकाले गर्‍यो पर्यटन मन्त्रालयसँग सम्झौता ।


११) सिन्धुलीको फिक्कल गाउँपालिका-६ का आगलागीपीडितलाई जिल्ला प्रशासन कार्यालय र विभिन्न संस्थाले गरे राहत सामग्री वितरण, राहत सामग्री र नगद पाउँदा आगलागीपीडित खुसी ।

 

१२) स्याङ्जाको गल्याङ नगरपालिकाको आयोजनामा भएको स्थानीय आर्थिक विकाससम्बन्धी तीन दिने तालिम सम्पन्न, तालिममा जनप्रतिनिधि, कर्मचारी र युवाको सहभागिता ।


१३) उदयपुरको उदयपुरगढी गाउँपालिकाद्वारा तीन दिने माटो परीक्षण शिविर सञ्चालन, शिविरबाट ८ वटै वडाका किसान लाभान्वित ।


१४) बाजुराको बूढीगंगा नगरपालिका-३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदुरले पाएनन् ज्याला, सरकारी दररेटअनुसार ज्याला नपाउँदा श्रमिक मारमा ।


१५) दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्रका ९ वटै वडामा नयाँ भवन तथा संरचना निर्माणमा रोक लगायो, लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका घोषणा भएपछि संरचना बनाउन रोक ।


१६) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको हटिया लाइन क्षेत्र धुलैधुलो भएपछि स्थानीयले गरे सडक अवरुद्ध, समयमै सडक निर्माण नगर्दा स्थानीय समस्यामा ।


१७)  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काभ्रेको पनौती नगरपालिकाले दोहोरी गीत प्रतियोगिता गर्ने, इच्छुकले २० फागुनसम्म महिला विकास शाखामा निवेदन दिनुपर्ने ।


१८) रूपन्देहीको बुटवल उपमहानगरपालिका-१० स्थित कालिकानगरमा कराँते कभर्ड हल निर्माण गरिने, नगरप्रमुअ शिवराज सुवेदीले गरे कभर्ड हलको उद्घाटन ।


१९) पर्वतको फलेवास नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेपछिको अवधिमा भएका उपलब्धि गर्‍यो सार्वजनिक, भौतिक निर्माण, सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा उल्लेख्य काम ।


२०) स्याङ्जाको पुतलीबजार नगरपालिकाको सहयोगमा मालेबगरमा पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न ।