close

ट्रयाक खुलेको २० वर्षपछि बल्ल पालाे आयाे पीचकाे

ट्रयाक खुलेको २० वर्षपछि बल्ल पालाे आयाे पीचकाे

Trulli
ADVERTISEMENT

बागलुङ- लामो समयदेखि सर्वसाधारणको चासोमा रहेको बागलुङ-कुश्मीशेरा सडकमा कालोपत्रेको काम सुरु भएको छ । सडक स्तरोन्नति सकेलगत्तै निर्माण कम्पनीले कालोपत्रे सुरु गरेको हो । 


बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको १० किलोमिटर खण्ड कालोपत्रे हुँदै छ । गण्डकी प्रदेश सरकारको लगानीमा यो सडक कालोपत्रे हुन थालेको हो ।

 

‘पाग्जामा प्राइमकोट हाल्ने काम सकिएको छ । अब पहिलो चरणको कालोपत्रे हुन्छ,’ एमएस प्यासेफिक कर्ण बिल्डर्सका साइड सुपरभाइजर सन्दीप श्रेष्ठले भने, ‘३ चरणमा काम हुने भएकाले डेढ महिनाभित्र सकिन्छ ।’ 


यो सडक ट्रयाक खुलेको २ दशकपछि कालोपत्रे हुन लागेको हो । गण्डकी प्रदेश सरकारले स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्रे हुँदा जिल्लाको दक्षिण क्षेत्रका सर्वसाधारणलाई सहज हुनेछ । 

 

अहिले सडकमा सवारी आवागमन रोकेर प्राइमकोट बिछ्याउने काम भइरहेको छ । ‘पहिलो चरणको प्राइमकोट राखेपछि सवारी चल्न दिन्छौँ,’ श्रेष्ठले भने, ‘प्राइमकोट (अलकत्राको घोल) नसुक्दासम्म धुलोले असर गर्ने भएकाले वैकल्पिक सडकबाट सवारी पठाइएको छ ।’ 


पहिलो चरणमा बागलुङ नगरपालिका वडा नम्बर १३ पाग्जादेखि वडा नम्बर १४ को पानीट्यांकीसम्मको काम सकिनेछ । दोस्रो चरणमा पानी ट्यांकीदेखि वडा नम्बर १२ को सरंगेसम्मको काम सम्पन्न गरिने उनले जानकारी दिए ।


२०७५ असारमा टेन्डर प्रक्रिया थालिएको यो सडकको १० किलोमिटर खण्डको काम १० भदौ २०७६ बाट सुरु भएको थियोे । मालढुंगाभन्दा केही अगाडि कालीगण्डकी करिडोरदेखि पाग्जासम्मको झन्डै ४ किलोमिटर सडक २०७३ मा कालोपत्रे भएको थियो ।

 

सडक विभागले पक्की बनाएको उक्त सडकको अन्तिम बिन्दुदेखि कुश्मीसेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रेको काम सुरु भएको हो । पाग्जादेखि टाकुरीसम्मको सडकबाहेक टाकुरीदेखि कुश्मीसेरासम्म पनि यसअघि नै कालोपत्रे भइसकेको छ ।


भौतिक पूर्वाधार मन्त्रालयको २६ करोड रुपैयाँ लगानीमा यो सडक कालोपत्रे हुँदै छ । २०७८ असोज मसान्तसम्म काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मेवारी लिएको कम्पनीले ५ महिना पहिले नै सक्ने गरी धमाधम काम गरिरहेको हो । ‘अब अवरोध छैनन् । २ महिनाभित्रै हस्तान्तरण गर्छौं,’ श्रेष्ठले भने, ‘कोरोना अवरोध नभएको भए धेरै पहिला हस्तान्तरण हुन्थ्यो ।’ 


सडक स्तरोन्नतिको काम २ महिना पहिले सकिए पनि कालोपत्रेका लागि तापक्रम पुग्नुपर्ने भएकाले फागुन पर्खनुपरेको थियो । 


तत्कालीन जिविसले २०५४ मा निर्माण थालेको यो सडक खण्ड २२ वर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे थियो । यो सडक खण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्यांकसमेत अझै कतै भेट्न सकिँदैन । कहिले जिविस, कहिले आरआईडिपी, कहिले ड्रिलिप र कहिले स्थानीय तहको बजेट लगानी परेको थियो ।