close

सम्झौता र मापदण्डविपरीत नदी दोहनमा प्रयोग भएका डोजर र टिपर नियन्त्रणमा

सम्झौता र मापदण्डविपरीत नदी दोहनमा प्रयोग भएका डोजर र टिपर नियन्त्रणमा

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड विपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिपरलाई शुक्रबार बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 


वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता विपरित साहना निर्माण सेवाले नदी उत्खननमा प्रयोग गरेको एक्साभेटर र दुई वटा टिपर नियन्त्रणमा लिएको गलेश्वरस्थित शसस्त्र प्रहरी बलको आश्रित गुल्मले जनाएको छ । 


डोजरको साथै उत्खनन गरिएको नदीजन्य बस्तुको ढुवानीमा प्रयोग भएको ग१ख ७९६७ र ग१ख ९०३८ नम्वरको टिपर नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाएको गुल्मका प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङले बताए । 


बेनी-जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी-गलेश्वर सडक अन्तर्गत बेनी नगरपालिकाको वडा नंं. ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भएको समाचार पालिकाखबरमा प्रकाशन-प्रशारण भएको थियो । 


नियन्त्रणमा लिएको डोजर र टिपरलाई आवश्यक अनुसन्धान गरी कारवाहीका लागि नदीजन्य वस्तुको जिल्ला अनुगमन समितिलाई बुझाइने प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । 


अव्यवस्थित रुपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन् गर्दा नदी गहिरिने, माछालगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयबासीले गुनासो गरेका छन् । 


जलजला गाउँपालिका-७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासँग ठुलोबगरस्थित कालीगण्डकी बगरमा नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि ५ फागुन, २०७७ मा बेनी नगरपालिकासँग २ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 


सोही कम्पनीले बेनी नगरपालिका-९ मा पर्ने गलेश्वर-मजुवाको बगरमा उत्खनन् र निकासीका लागि ७ लाख १ हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले नदीजन्य बस्तु उत्खनन्मा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताए । 

 

राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् व्यवस्थापन समितिले गरेको आग्रह अनुसार मजुवा-गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने-नदिने भन्ने विषयमा जलजला र रघुगंगाका प्राविधिकसँग छलफलको चरणमा रहेको कार्कीले बताए । 


साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन् गर्दा सम्भव नहुने भएकाले विकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपुर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खनन्मा उपकरण प्रयोग गरेको बताए । 

 

‘उत्खनन्मा उपकरण प्रयोग नगर्ने भन्ने कही उल्लेख छैन,’ उनले भने, ‘मजदुर लगाएर निकालेको बालुवा, गिट्टी र ढुङ्गाले यत्रा विकास आयोजनालाई आवश्यक पर्ने सामान पुर्‍याउन सकिदैन ।’ 


नदीजन्य बस्तुको उत्खनन् नियमनका लागि जिल्लास्तरमा रहेको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सम्झौता र इआइए प्रतिवेदन विपरित नदी बगर उत्खनन्मा उपकरण प्रयोग गरेको भेटिएमा कारवाही गरिने बताएका थिए ।  


म्याग्दीमा केही समययता अवैध दोहन नियन्त्रणमा सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । यसअघि सडक निर्माणका लागि बेगखोलामा अस्थाई क्रसर खोलेको ओमकारेश्वर निर्माण कम्पनीले गलेश्वरमा बेच्न ल्याएको २ टिपर बालुवा नियन्त्रणमा लिएर जरिमाना तिराएर छाडिएको थियो । 

 

त्यसैगरी बेनी नगरपालिका-५ बगुवाखोलामा जिसी क्रसर उद्योगले मापदण्ड विपरित डोजर प्रयोग गरेर गरिरहेको उत्खनन्लाई सशस्त्र प्रहरीका डिएसपी गुरुङको टोलीले रोकेको थियो ।

 

याे पनि...

बेनी बगरमा मापदण्डविपरीत डोजर लगाएरै उत्खनन