close

पुरा होला सबै प्रदेशमा आधुनिक कृषि प्रविधि लैजाने मन्त्रीको बाचा ?

पुरा होला सबै प्रदेशमा आधुनिक कृषि प्रविधि लैजाने मन्त्रीको बाचा ?

Trulli
ADVERTISEMENT

लमजुङ- कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा ७ वटै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागिएको बताएकी छन् ।


नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्र्याउने सन्दर्भमा इजरायली राजदूतसँगै लमजुङ आएकी मन्त्री अर्यालले ७ वटै प्रदेशमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिएकी हुन् ।

 

कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको उनको भनाइ छ । इजरायली कृषि प्रविधिलाई नेपाल भित्र्याउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको जानकारी दिँदै उनले भनिन्, ‘अब कृषिमा यान्त्रिकीकरण भएन भने हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सक्दैनौँ । त्यसैले ७ वटै प्रदेशमा किसानलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्न लागेका छौँ ।’ 

 

लमजुङको बेँसीसहर नगरपालिका वडा नम्बर २ बगालेगाउँ गाउँसहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

 

नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रूपमा सुरु गरेको तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र ३ सय ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

 

सेवानिवृत्त सैनिक, तिनका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्य लिएको यो तालिम केन्द्रमा पनि इजरायली प्रविधि भित्र्याइने भएको छ । 

 

त्यस अवसरमा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको जानकारी दिए ।

 

अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उनले आधृनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताए । 

 

कृषिमन्त्री अर्याल, इजरायली राजूदत गोडेर, कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मालगायतले बिहीबारै लमजुङको दूराडाँडास्थित ‘आरभा कृषि फार्म’ को पनि निरीक्षण गरे ।

 

इजरायलबाट व्यावसायिक तालिम लिएर फर्किएका प्रशिक्षार्थीले खोेलेको उक्त अत्याधुनिक कृषि फार्म २ सय ५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।