close

साना उद्योग प्रवर्द्धन गर्न आफन्त सञ्जाल 

साना उद्योग प्रवर्द्धन गर्न आफन्त सञ्जाल 

Trulli
ADVERTISEMENT

काठमाडौं- लघु, घरेलु तथा साना उद्योग व्यवसाय र उद्यमशीलता विकास गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ को प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक गरे ।


कार्यक्रममा सचिव अर्यालले ‘आफन्त’ लाई साना उद्योगी र तिनका उत्पादनदेखि बजारीकरण गर्न सघाउने किसिमले सदुपयोग गर्न आग्रह गरे ।

 

सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउँदै उनले भने, ‘एप र सञ्जालहरूको भीडमा यो त्यत्तिकै नहराओस् । उत्पादन, बजार, उद्यमीलाई जोड्न सकोस् । प्रयोगकर्तालाई सहज होस् ।’

 

वेबसाइट तथा एप दुवै माध्यममा उपलब्ध आफन्त गाउँघरमा दिदीबहिनीले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरो मात्रै नभएर साना तथा लघु उद्यमीका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष तथा आफन्त नेपाल प्रालिका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए ।

 

कृषि, औद्योगिकलगायत अन्य स्थानीय उत्पादक, थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने-दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता एवं व्यापारीबीच जानकारी आदान-प्रदान गर्ने माध्यमको रूपमा आफन्तलाई अगाडि बढाइएको उनले बताए ।

 

नेपालमा रहेर वा नरहेका गैरनेपाली र नेपाली समुदायबीच अन्तरक्रिया गर्ने माध्यम पनि आफन्त रहेको अध्यक्ष गिरीको दाबी छ ।

 

अन्य सामाजिक सञ्जालमा जस्तै ‘आफन्त’ मा तस्बिर, भिडिओ पोस्ट गर्न तथा लेख, ब्लग पनि पोस्ट र च्याट गर्न मिल्नेछ । अन्य सामाजिक सञ्जाल भन्दा ‘आफन्त’ मार्फत उद्योगी, व्यवसायीले संसारभर छरिएका ग्राहकलाई कुनै पनि उत्पादन बिक्री गर्न सक्ने सञ्चालनकर्ता कम्पनी आफन्त नेपाल प्रालिले जनाएको छ ।

 

बिक्रेता र क्रेतालाई जोड्ने पुलका रूपमा काम गर्ने ‘आफन्त’ लाई नेपालीको अनलाइन साझा चौतारी बनाउन खोजिएको सञ्चालक तथा सम्पादक तेजप्रसाद ढकालले बताए ।


रोजगारी दिने र कामको खोजीमा रहेकालाई पनि सहयोग पु¥याउने ‘आफन्त’ प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ । 

 

जागिरको खोजीमा रहेकाहरूले पनि आफूलाई उपयुक्त लागेको पदमा आवेदन दिन सक्नेछन् । ‘साना उद्यमीका लागि यो राम्रो प्लेटफर्म हो’, एनपिईडिसीकी अन्जना ताम्राकारले भनिन्, ‘उद्यमीले बजार नपाउँदा समस्या भोगिरहेका छन् । यो एकदमै ठूलो अवसर हो ।’

 

कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले नेपालीलाई जोड्ने यो एप जति बढी प्रयोग गर्न सक्यौँ, त्यति फाइदा हुने बताए । जोशीले भने, ‘यो सञ्जालबाट देशका कुनाकाप्चामा उत्पादन भएका सामान बेच्न सकिन्छ ।’ 

 

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले आफन्त प्लेटफर्मलाई बहुआयामिक तवरले व्यवसायसँग जोडेर अगाडि बढाउन सकिने जानकारी दिए ।