close

५ शय्याको अस्पताल बनाउँदै मेरिङ्देन

५ शय्याको अस्पताल बनाउँदै मेरिङ्देन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले वडा नम्बर ३ खाम्लुङको देवलडाँडामा ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने भएको छ ।

 

खाम्लुङ स्वास्थ्य चौकीलाई आधारभूत स्वास्थ्य अस्पतालको रूपमा स्तरोन्नति गर्ने योजनाअनुरूप प्रक्रिया अघि बढाउने निर्णय भएको गाउँ कार्यपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए ।

 

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूगोल र जनसंख्याका आधारमा स्वास्थ्य संस्थाको स्तरोन्नति तथा आधारभूत अस्पताल निर्माण प्रक्रिया अघि बढाउन गरेको पत्राचारअनुसार खाम्लुङ स्वास्थ्य चौकीलाई आधारभूत स्वास्थ्य अस्पतालको रूपमा स्तरोन्नति गरिनेछ ।

 

त्यसका लागि चाहिने आवश्यक जग्गा व्यवस्थापन यही वर्षको फागुन मसान्तसम्म गर्ने गाउँपालिकाले निर्णय लिएको छ ।

 

सवास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार कार्यक्रम, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सबलीकरण कार्यक्रम, एकीकृत खोप तथा पोषण कार्यक्रम, एकीकृत रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम, एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन तथा डिजिटल हेल्थ कार्यक्रम र स्वास्थ्य बिमा कार्यक्रमका लागि योजना तथा प्रस्ताव तयार गरी पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।

 

अस्पताल निर्माण भने आगामी आर्थिक वर्ष २०७८/७९ मा गरिनेछ । मेरिङ्देन कार्यपालिकाले लक्षित वर्ग कार्यक्रमका लागि ८० प्रतिशत गाउँपालिका र २० प्रतिशत स्थानीय समुदायको लागत साझेदारी खोज्ने निर्णय लिएको छ ।

 

समुदायको २० प्रतिशत लागत साझेदारी भने निर्माणमा मात्र हुनेछ । गाउँपालिकाले सिचाँइसम्बन्धी कार्यक्रम वडा नम्बर २ सान्थाक्रा र वडा नम्बर ३ खाम्लुङ तथा भकारो सुधार कार्यक्रम वडा नम्बर १ थिङ्लाबु, वडा नम्बर ४ लिङ्तेप र वडा नम्बर ६ नाल्बुमा सञ्चालन गर्नेछ ।

 

यस्तै, कृषिजन्य सामग्रीमा अनुदान वितरण कार्यक्रम वडा नम्बर ५ थुकिमामा सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता बराइलीले बताए ।