close

कमलपोखरी विवादः अभियन्ताले भत्काए कंक्रिट संरचना

कमलपोखरी विवादः अभियन्ताले भत्काए कंक्रिट संरचना

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको भन्दै सांकेतिक रूपमा कंक्रिटको संरचना भत्काएका छन् । महानगरले पोखरीको मध्य भागमा कंक्रिटको कमल राख्न लागेको भन्दै शुक्रबार उनीहरूले विरोध गरेका हुन् । 

 

बृहत् नागरिक आन्दोलनका सहभागीले कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्टको संरचना भत्काएका हुन् । 


कमलपोखरीमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै नागरिकले विरोध प्रदर्शन गरे ।

 

त्यस क्रममा प्रहरीसँग आन्दोलनका सहभागीको धकेलाधकेल समेत भएको थियो । ऐतिहासिक पोखरीमा कंक्रिटको कमल आवश्यक नरहेको अभियन्ता सुसन वैद्यले बताए । 


उनीहरूले माटोको टीका लगाएर ‘कमलपोखरी मास्न पाइँदैन’ कमलपोखरी जनताको हो भन्दै नारा लगाए । आन्दोलनका सहभागीले माटोको मौलिक पोखरी बनाएर पानी जम्मा पारेका छन् ।

 

उनीहरूले विकासका नाममा मौलिकता नमास्न आग्रह गरे । पोखरीको कमल फुल्ने ठाउँमा पानी जम्मा पारेको आन्दोलनका सहभागीले बताए ।

 

यसअघि बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो । अभियन्ताले काठमाडौं उपत्यकाका मूलबासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने, मातृभाषा संरक्षण गर्नुपर्नेलगायत माग राखेका थिए ।

 

महानगरपालिकाले पोखरी निर्माणमा करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । जय धनञ्जय र कँडेल जेभी, रानीबारी काठमाडौंले निर्माण ठेक्का पाएका छन् । 

 

सम्झौताअनुसार कमलपोखरीको पुनर्निर्माण गत १५ असारमै सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म पनि निर्माणले गति लिन सकेको छैन । महानगरपालिकाले पारित गरेको डिजाइनअनुसार पोखरी परिसरमा खुला व्यायाम, ब्याडमिन्टन र बास्केटबल कोर्ट रहनेछन् ।

 

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले कमलपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग नगरिएको बताए । महानगरको वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ पोखरीको सौन्दर्य परिवर्तन गर्न कंक्रिट प्रयोग हुँदा ऐतिहासिकता नमासिने दाबी गर्छन् ।

 

‘ढुंगा छापिएको हो । कंक्रिटको प्रयोग गरिएको छैन । सो विषयको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ’, उनले भने ।