close

कञ्चन गाउँपालिकाको अस्थायी क्वारेन्टाइन हटाइयो

कञ्चन गाउँपालिकाको अस्थायी क्वारेन्टाइन हटाइयो

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको कञ्चन गाउँपालिकामा निर्माण गरिएको अस्थायी क्वारेन्टाइन हटाइएको छ । उक्त अस्थायी क्वारेन्टाइन गत चैत १४ देखि सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बनाएका ५ अस्थायी क्वारेन्टाइनमा ७ सय २६ जनालाई राखिएको थियो ।


तेस्रो मुलकबाट आएका १ सय ४० महिला र ५ सय ६८ पुरुषलाई उक्त क्वारेन्टाइनमा राखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।


‘क्वारेन्टाइन व्यवस्थापन, खाना–बस्न, सुरक्षा सामग्री खरिद गर्न र सिमानामा आएकाको उद्धारमा ७६ लाख ५१ हजारभन्दा बढी खर्च भएको छ’, स्वास्थ्य शाखा संयोजक रामप्रसाद गौतम भने, ‘गाउँपालिकाले बनाएको राहत कोषमा ८० लाखभन्दा बढी जम्मा भएको छ ।’


कोषमा प्रदेश सरकारबाट १० लाख, कर्मचारीबाट ६ लाख, स्थानीय संघसंस्थाबाट ११ लाख र गाउँपालिकाबाट ५२ लाख जम्मा भएको स्वास्थ्य संयोजक गौतमले बताए । अस्थानीय क्वारेन्टाइन हटाएपछि अहिले कोरोना संक्रमितलाई होम क्वारेन्टाइनमा पठाइएको उनको भनाइ छ ।


कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले सबैको सहयोगबाट कोरोनासँग जुध्न सफल भएको दाबी गरे । ‘एकल प्रयासबाट केही सम्भव थिएन । सहयोगी हातहरूका कारण अस्थायी क्वारेन्टाइन हटाउन सकिएको हो । कोरोना संक्रमण फैलिने क्रम अझै रहेकाले थप सचेतना आवश्यक छ,’ क्षेत्रीले भने ।