close

गल्याङका पशुपालकलाई लाभैलाभ: नगरप्रमुखले लिए दूध बिक्रीको जिम्मा

गल्याङका पशुपालकलाई लाभैलाभ: नगरप्रमुखले लिए दूध बिक्रीको जिम्मा

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले आउँदो वर्षसम्म दैनिक १० हजार लिटर दूध उत्पादन गरिने बताएका छन् । नगरपालिकाले दूधबाट किसानलाई आत्मनिर्भर र स्वरोजगार बनाउने अभियान सुरु गरेको उनले जानकारी दिए ।

 

गल्याङ नगरपालिकाको वडा नम्बर ५ हुक्तुममा कृषकसँगको छलफलमा नगरप्रमुख अधिकारीले दूध बिक्रीको ग्यारेन्टी नगरपालिकाले लिने बताए । अधिकारीले भने, ‘बर्खाको समय बाटोका कारण दूध बिक्री गर्न नपाए पनि त्यसको क्षतिपूर्ति नगरपालिकाले दिन्छ ।’

 

एउटा गाउँ वा फार्ममा १ सय लिटर दूध भए नगरपालिकाले त्यहीँ पुगेर खरिद गरिदिने प्रतिबद्धता उनले व्यक्त गरे । 

 

किसानलाई शून्य प्रतिशत ब्याजसहितका योजना ल्याएकाले त्यसको सदुपयोग गर्न आग्रह गरे । ‘नगरपालिकामा अहिले दैनिक २ हजार लिटर बढी दूध उत्पादन भई निर्यात भइरहेको छ । किसानलाई आत्मनिर्भर बनाउने अभियानस्वरूप अनुदानदेखि सहुलियतसम्म दिँदै आएका छौँ’, उनले भने । 

 

व्यावसायिक रूपमा गाइपालन गरेका कृषक सफल हुँदै गएकाले सोहीअनुसार एक गाईको नीति ल्याइएको उनले बताए ।

 

गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले दूधमा दिइएको प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट नगरपालिकाका १ हजार १ सय ७६ परिवार कृषकले प्रत्यक्ष लाभ पाइरहेको जानकारी दिए । 

 

कार्यक्रममा नगरप्रमुख अधिकारीले वडा नम्बर ५ हुक्तुममा व्यावसायिक भैँसीपालन गरिरहेका नेत्रलाल भुसालको गोठ अनुगमन गरे । अनुगमनका क्रममा गल्याङ नगरपालिका वडा नम्बर २ का अध्यक्ष ईश्वप्रसाद कर्माचार्य पनि सहभागी थिए ।