close

थिमिका पुराना बस्तीमा कालोपत्रे उम्काएर ढुंगा छापिँदै

थिमिका पुराना बस्तीमा कालोपत्रे उम्काएर ढुंगा छापिँदै

Trulli
ADVERTISEMENT

भक्तपुर- मध्यपुर थिमि नगरपालिकाले पुरानो बस्तीमा पिच उप्काएर ढुंगा बिछ्याउन सुरु गरेको छ । पुराना बस्ती तथा सम्पदा क्षेत्रमा ढुंगा बिछ्याउन लागिएको हो । 

 

नगरपालिकाले वडा नम्बर ४ र ५ स्थित बालकुमारी मन्दिरदेखि हात्तीमहाँकालसम्म ढुंगा छपाइ गर्न लागिएको हो । नगरपालिकाले उपभोक्ता समिति गठन गरी उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

 

नगरपालिकाका अनुसार आगामी नयाँ वर्ष अर्थात विस्का जात्रामा उक्त आयोजना सम्पन्न गर्ने योजना छ । करिब १ करोड रुपैयाँ विनियोजित रकममध्ये नगरपालिकाले करिब ८० लाख बेहोर्नेछ भने २० लाख रुपैयाँ उपभोक्ता समितिमार्फत खर्चिनेछ । 

 

पुराना बस्तीमा ढुंगा छपाइ कार्यक्रम सञ्चालन भएसँगै स्थानीय खुसी छन् । ढुंगा छपाइपछि स्थानीय क्षेत्रमा रहेका सम्पदा क्षेत्रमा सुन्दरता बढ्नुका साथै पानी परेको समय पानी जमिनमा जान सहज हुने स्थानीय रघुन श्रेष्ठ बताउँछन् । 

 

मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दरले सडकमा ढुंगा छाप्दा सम्पदा मार्गलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसका लागि चालू आवमा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी चैत मसान्तसम्म काम सकाउने लक्ष्य लिएका छौँ ।’ 

 

बाटोमा करिब ४ इन्च मोटाइको ढुंगा छापिने समितिका सचिव रेणु श्रेष्ठले बताए । बालुवा, इँटा, ढुंगाको धुलो र बाक्लो ढुंगाको प्रयोग गरिनेछ । उनले भने, ‘बाक्लो ढुंगालाई मिलाएर राखिने भएकाले लामो समयसम्म टिकाउ हुनेछ । आवश्यक परे उप्काएर पुनः राख्न सकिनेछ ।’

 

वडा नम्बर ४ की महिला सदस्य रामकेशरी श्रेष्ठले सडक विस्तार गर्नु अगाडि स्थानीयलाई खानेपानीको पाइप र ढल व्यवस्थापन गर्न आग्रह गरिन् । त्यसका लागि वडा कार्यालयले निःशुल्क सेवा दिनुका साथै खानेपानी संस्थानसँग पनि सहकार्य गर्दै आएको उनको भनाइ छ ।