close

साइकल चढेरै स्कुल जाने भए तुलसीपुरका छोरी

साइकल चढेरै स्कुल जाने भए तुलसीपुरका छोरी

Trulli
ADVERTISEMENT

दाङ- दाङको तुलसीपुर उपमहानगरले विद्यालय टाढा भएका छोरीहरूलाई साइकल वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर उपमहानगरले यस क्षेत्रका २ सय छोरीलाई साइकल वितरण गर्न लागेको हो । 

 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गत तुलसीपुरलाई साइकल सिटीका रूपमा विकास गर्न पनि यस्तो अभियान सञ्चालन गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । 

 

‘हामीले छोरी शिक्षामा जोड दिन यस्तो अभियान थालनी गरेका हौँ,’ नगरप्रमुख पाण्डेले भने । स्वास्थ्यका लागि पनि लाभदायक भएकाले धेरै साइकल चढ्नेलाई प्रोत्साहित गर्ने कार्यक्रम रहेको बताए ।

 

‘हामीलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट मोबाइल एप्लिकेसन सहयोग भएको छ । कसले धेरै साइकल चढ्छ भन्ने कुरा एप्लिकेसनले थाहा दिन्छ,’ नगरप्रमुख पाण्डेले भने । सबैभन्दा धेरै साइकल चढ्नेलाई पुरस्कार दिइने उनको भनाइ छ । 

 

साइकल हुने–खाने वर्ग र नहुने दुवैका लागि लाभदायक भएको भन्दै उनले वातावरण स्वच्छताका लागि पनि यो अभियान अगाडि बढाइएको दाबी उनको छ । ‘निम्न वर्गका लागि यातायातको साधन र हुने, खानेका लागि स्वस्थ रहने माध्यम साइकल हो,’ नगरप्रमुख पाण्डेले भने । 

 

छोरीहरूलाई साइकल वितरणका लागि सहयोग गर्न आह्वानसमेत गरे । ‘छोरीहरूलाई सशक्त बनाउन सबैले सहयोग गर्नु आवश्यक छ,’ उनले भने । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिनेछ ।