close

४१ हजार बढीलाई हात्तीपाइलेको औषधी खुवाउँदै बुद्धशान्ति

४१ हजार बढीलाई हात्तीपाइलेको औषधी खुवाउँदै बुद्धशान्ति

Trulli
ADVERTISEMENT

झापा- झापाको बुद्धशान्ति गाउँपालिका हात्तीपाइले रोग प्रभावित क्षेत्र हो । फाइलेरिया नामक परजीवी क्युलेक्स पोथी लामखुट्टेले टोकेर सर्ने भएकाले अहिले सरेको किटाणुले २० वर्ष पछिसम्म असर देखाउने हुँदा समयमै सचेत रहन गाउँपालिकाले आग्रह गरेको छ ।

 

अघिल्लो वर्ष बुद्धशान्तिमा ४१ हजार ६ सय १० जनाले हत्तीपाइले रोगविरुद्धको औषधी सेवन गरेकामा यस वर्ष राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत गाउँपालिकाले ४१ हजार बढीलाई हात्तीपाइलेको औषधी खुवाइने भएको हो ।


राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत बुद्धशान्तिले ४१ हजार बढीलाई हात्तीपाइलेको औषधी खुवाउन लागेको हो । आउँदो २९ फागुनदेखि हात्तीपाइले रोगविरुद्धको औषधी र जुकाको औषधी एकसाथ खुवाइनेछ ।


बुद्धशान्तिका पदाधिकारी, महिला स्वयंसेविका, स्वास्थ्यकर्मी र ७ वटै वडामा स्थानीय जनप्रतिनिधिसहितको टोलीलाई हात्तीपाइले रोगबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर कार्यक्रम सुरु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए ।


 
बुद्धशान्तिको जनसंख्या ४७ हजार ७ सय ५३ जना रहेकामा ४१ हजार ८ सय ८२ जनालाई हात्तीपाइलेविरुद्धको औषधी र जुकाको औषधी खुवाइनेछ । 

 

यसअन्तर्गत २ देखि ५ वर्षसम्मका बालबालिका २ हजार ३ सय ३९, ६ वर्षदेखि १४ वर्षसम्मका १० हजार र १४ वर्ष उमेर समूहदेखि माथिको जनसंख्या २९ हजार ५ सय ४३ जना रहेको छ । 


२ वर्षमुनिका १ हजार ७ सय ३५, ७० वर्षभन्दा माथिका तथा सिकिस्त बिरामी २ हजार ९ सय र अनुमानित गर्भवती संख्या १ हजार २ सय ३६ गरी ५ हजार ८ सय ७१ जना उक्त औषधी खानबाट वञ्चित भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए ।
 
यसका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले औषधी खुवाउन ३० जना स्वास्थ्यकर्मी र २६ जना स्वास्थ्य स्वयंसेविका खटाउने भएको छ । २९ फागुनमा पहिलो दिन केन्द्र, ३० फागुनमा कार्य विभाजनअनुसार टोलटोलमा घरदैलो कार्यक्रम गरिनेछ भने अरू बाँकी दिन छुटेका भए प्रत्येक वडामा रहेको स्वास्थ्य इकाइमा गएरसमेत औषधी खुवाउने कार्यक्रम छ ।