close

दिक्तेल बजारको सडक ढलान गर्न सहरी विकास मन्त्रालयकाे ५ कराेड

दिक्तेल बजारको सडक ढलान गर्न सहरी विकास मन्त्रालयकाे ५ कराेड

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साविक सदरमुकाम दिक्तेल बजारको सडक ढलानका लागि थप ५ करोड रुपैयाँ बजेट प्राप्त भएको छ । 

 

पहिलो चरणमा दिक्तेल बजारको किरातचोक (रत्नपार्क) स्थित जिरो प्वाइन्टदेखि सिँचाइ गेट, त्रिवेणीचोकदेखि मालपोत कार्यालय र पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने खण्ड ढलान भइसकेको छ । 

 

बाँकी खण्डको आरसिसी ढलानका लागि सहरी विकास मन्त्रालयबाट थप बजेटको टुंगो लागेको हो । दिक्तेल बजारको बाँकी खण्ड ढलानका लागि अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सहरी विकास मन्त्रालयलाई ५ करोड रुपैयाँसम्मको सीमाभित्र रहेर निर्माण अगाडि बढाउन सहमति दिने निर्णय पत्राचारमार्फत गरेको हो ।

 

अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालयको चालू आर्थिक वर्ष विनियोजित बजेटमध्ये खर्च हुन नसक्ने रकमबाट बजारका सडक ढलान गर्ने बजेट व्यवस्थापन गरिने भएको छ । 

 

संघीय सांसद विशाल भट्टराईले दिक्तेल बजार ढलानका लागि ५ करोड रुपैयाँ बजेट उपलब्ध भएको शुक्रबार सामाजिक सञ्जालमा उल्लेख गरेका हुन् ।

 

बजेट दिक्तेल बजारको आरसिसी ढलानकै निरन्तरतास्वरूप प्राप्त भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । 

 

यो बजेटले चालू आर्थिक वर्षभित्रै दिक्तेलको सिँचाइ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गरिने दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख दीपनारायण रिजालले बताए ।

 

‘दिक्तेल बजार ढलान गर्ने कामको निरन्तरताका लागि यो बजेट आएको हो,’ रिजालले भने, ‘प्राप्त बजेटबाट सिँचाइ गेटदेखि टेलिकमसम्मको बजार ढलान गर्नेछौँ । यो चालू आर्थिक वर्षभित्रै ढलानको काम हुन्छ ।’ 

 

चालू आर्थिक वर्षको अन्त्यमा प्राप्त बजेटले यही आर्थिक वर्षभित्र ढलान हुनेमा भने आशंका छ । पहिलो चरणमा आर्थिक वर्ष २०७६/७७ मा दिक्तेल बजारमा गरिएको ढलानको गुणस्तरमा स्थानीयले असन्तुष्टि जनाएका थिए । 

 

अव्यवस्थित बजारीकरणका कारण दिक्तेल बजारको सडक ढलानका क्रममा कतिपय घर तथा पसलका ढोका छेकिन पुगेका छन् भने कतिपय घर तथा पसलको ढोका सडकभन्दा माथि हुन पुगेको छ । 

 

बजारका घरलाई सडकको सतहसँग मिल्ने गरी पुनर्निर्माण गरे मात्र बजार थप व्यवस्थित बन्दै जाने देखिएको छ । दिक्तेल–खानीडाँडा सडक खण्डमा पर्ने टेलिकमदेखि हाटडाँडासम्मको खण्ड भने दिक्तेल-खानीडाँडा पिचका क्रममा स्वतः कालो पत्रे हुनेछ । 

 

पूर्वी पहाडका सबैजसो जिल्लाका सदरमुकाम ढलान भइसक्दा बल्ल दिक्तेल बजारमा ढलानको काम सुरु गरिएको हो । दिक्तेल बजार ढलान सुरु भएपछि हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ । 

 

खोटाङ बजारबाट २०२० मा दिक्तेलमा सारिएको सदरमुकाम पिच÷ढलान नभएका कारण बर्खायाममा हिलाम्मे हुने गरेको छ । बर्खा लागेपछि बजारका सडकमा हिँड्नै मुस्किल पर्छ ।

 

सडक फराकिलो बनाउन बजारबासीले जग्गा छाड्ने अवस्था नभएपछि आर्थिक वर्ष २०७३/७४ मा स्थानीय विकास शुल्क कोषबाट दिक्तेल बजार कालोपत्रेका लागि आएको बजेट फ्रिज भएको थियो ।

 

सडक साँघुरो भएका कारण आगलागीको समय दिक्तेल बजारमा दमकलसमेत पस्न नसक्दा बढी क्षति हुने गरेको छ ।