close

घातक रोगको उपचारमा नागरिकलाई सघाउँदै मिक्वाखोला 

घातक रोगको उपचारमा नागरिकलाई सघाउँदै मिक्वाखोला 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई सरकारले निःशुल्क गरेबाहेक घातक रोग उपचारका लागि बढीमा ५० हजार रुपैयाँसम्म सहयोग गर्ने भएको छ । 

 

गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष कार्यान्वयन विनियम जारी गर्दै मान्यता प्राप्त स्वास्थ्य संस्थाको प्रमाणित बिल र रोगको प्रकृतिको आधारमा नगदै भुक्तानी दिने व्यवस्था गरेको हो ।

 

विनियमले गाउँपालिकाका पदाधिकारी र कर्मचारीका लागि यस्तो सहयोग कार्यपालिकाले निर्णय गरेअनुसार हुने व्यवस्था गरेको छ । तर, यस्तो सहयोग विपद्का कुनै पनि घटनाबाट पीडितलाई भने गरिने छैन । 

 

गाउँपालिकाले बढीमा २० लाख रुपैयाँसम्मको अध्यक्ष आकस्मिक उपचार कोष बनाएको छ । उपचार कोषको रकम सो आर्थिक वर्षमा खर्च नभए पालिकाक्षेत्र भित्रको भौतिक संरचना पुनर्निर्माण तथा मर्मतका लागि खर्च गर्न सकिनेछ । 

 

यसका लागि कार्यपालिकाको बैठकको निर्णय अनिवार्य छ । तर, उपचार कोषको रकमले सोही आर्थिक वर्षका लागि नभ्याउने अवस्थामा कार्यपालिकाको बैठकबाट बढीमा १० लाख रुपैयाँसम्म रकम थप गर्न सकिनेछ ।

 

अर्को आर्थिक वर्षका लागि फेरि यो शीर्षकमा गाउँपालिकाले कम्तीमा २० लाख रुपैयाँसम्मको रकम विनियोजन गर्नुपर्ने विनियमले नै प्रस्ट्याएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले स्थानीय सरकारका तर्फबाट पालिकाभित्रका नागरिकका लागि यो ठूलो सहयोगको रूपमा रहने बताए ।

 

‘कोषको रकम खर्च नभए पालिकाकै हितका योजनामा फेरि खर्च गर्न सकिन्छ’, उनले भने, ‘स्थानीयका लागि यो सहयोग प्रभावकारी हुनेछ ।’ उनका अनुसार यो कोषको परिचालन अध्यक्षको सचिवालयमार्फत विनियोजन तथा कार्यान्वयन हुने गरी कार्यपालिकामा निर्णयार्थ पेस हुनेछ । 

 

आर्थिक वर्ष अन्त्यमा आर्थिक प्रगतिको विवरण अध्यक्षको सचिवालयमार्फत प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । आर्थिक रुपमा बिपन्न परिवार,व्यक्ति र पिछडिएको वर्गका लागि सरकारले निःशुल्क गर्ने गरेको रोगबाहेकको उपचारका लागि मात्र यो कोषको परिचालन गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।