close

दार्चुलाले मार्‍यो सडकमा फड्को

सदरमुकाम पुग्न ३ दिन लाग्ने बाटो ३ घन्टामै समेटियो 

दार्चुलाले मार्‍यो सडकमा फड्को

सदरमुकाम पुग्न ३ दिन लाग्ने बाटो ३ घन्टामै समेटियो 

Trulli
ADVERTISEMENT

दार्चुला- करिब २ दशकअघिसम्म दार्चुलाका ग्रामीण क्षेत्रका जनतालाई सदरमुकाम पुग्न कम्तीमा २-३ दिन लाग्थ्यो । विभिन्न गाउँ, जंगल तथा पहाड छिचोलेर सदरमुकाम तथा आसपासका बजारमा पुग्नुपर्ने बाध्यता थियो ।

 

सदरमुकामसम्मको सडक २०५६/५७ मा विस्तार भएपछि भने दार्चुलाबासीको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको छ । सडक नहुँदासम्म लुगाफाटो वा दैनिक प्रयोगका अन्य सामग्रीका लागि सीमावर्ती भारतीय बजार बालुवाकोट तथा धार्चुला बजार पुग्नुपर्ने बाध्यता थियो ।

 

अपिहिमाल हिमाल गाउँपालिका वडा नम्बर १ का झुनसिंह जागरी खलंगा पुग्न ३ दिन पैदलै हिँडेर आउँथे । घरबाटै रोजी खाजा बोकेर आउनुपर्ने दिन उनले अझै भुलेका छैनन् ।

 

‘गाडी भारतीय बजारमा मात्रै गुडेको देख्थेँ । दार्चुला सदरमुकाम पुग्दासम्म गाडी कही देखिँदैनथे । अहिले समय बदलियो । घरबाट हिँडेको तीन घन्टामै गाडी चढेर खलंगा पुगिन्छ ।’ 

 

सडक अझै माथिमाथि विस्तार हुँदै जाने हो भने यहाँको जीवनशैलीमा परिवर्तन देख्न सकिने उनको बुझाइ छ ।

 

सदरमुकाम खलंगाबाट २६ कोश टाढा रहेको घुसाको मात्रै यो समस्या थिएन । यस्तै समस्या थियो, मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मेलखेतका मानसिंह सामन्तको । 

 

सडक थिएन । वर्षको एक पटक भारतीय बजार बालुवाकोट या धार्चुला पुगेर वर्षभरिका लागि लुगाफाटो ल्याएर आउने गरेको उनले स्मरण गरे । 

 

‘धार्चुला तथा बालुवाकोटमा गाडी चलेको देख्दा हाम्रो देशमा कहिले गाडी चल्ला भनेर सोचिरहन्थ्यौँ । तर, अहिले गाउँ-गाउँमा सडक पुग्दै छ’, सामन्त भन्छन्, ‘सडक पुगेसँगै स्थानीयलाई अहिले निकै सहज भएको छ ।’

 

मालिकार्जुनकै ७७ वर्षीया बाटुलीदेवी सामन्तलाई भारतको पिथौरागढ गएर घिउ बेचेर नुन ल्याएको सम्झना ताजै छ ।

 

‘मेलखेतबाट हिँडेरै दत्तु नाका पुग्थ्यौँ’, उनले सुनाइन्, ‘त्यहाँबाट पनि भाडाका लागि पैसा नहुँदा हिँडेरै पिथौरागढसम्म पुग्थ्यौँ । करिब १५ दिनको आसपासमा नुन ल्याएर घर आइपुग्थ्यौँ । तर, अहिले हाम्रै गाउँमा गाडी गुड्दा निकै सहज भएको छ ।’

 

पछिल्लो समय जिल्लाको दुर्गम मानिएको अपिहिमाल गाउँपालिकाको मकरीगाड, व्यास गाउँपालिकाको केन्द्र सुनसेरादेखि लेकम गाउँपालिका केन्द्र सडक सञ्जालमा जोडिँदै छ ।

 

३ वटै तहका सरकार बनेपछि विकट क्षेत्रसम्म पनि सडक पहुँच पुग्दै छ । हरेक स्थानीय तहका वडाबस्तीसम्म पु¥याउने गरी सडक निर्माण अघि बढेका छन् । दुर्गम बस्ती सडक सञ्जालमा जोडिएका छन् भने कच्ची सडकलाई कालोपत्रे गर्ने काम पनि तीव्र रूपले अघि बढिरहेको छ ।

 

महाकाली राजमार्गअन्तर्गत दार्चुला सदरमुकाममा सडक पुगेपछि भारतीय बजारमाथि जिल्लाबासीको निर्भरता घटेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाले बताए । ‘विकासको पूर्वाधार सडक हो भन्ने सदरमुकाममा पुगेपछि थाहा भयो’, अध्यक्ष ठगुन्नाले भने ।

 

सडक पुगेपछि व्यापार व्यवसाय बढेको छ । अहिले सदरमुकाममा ठूल्ठूला होटल पनि खुलेका छन् । मानिसको आउजाउ पनि सहज भएको छ । दार्चुलाका ६१ मध्ये हालसम्म ४४ वडामा सडक मार्गले जोडेको छ । १७ वडा सडक मार्गबाट टाढा रहेको सम्बन्धित स्थानीय तहले बताएका छन् ।

 

संघीय संरचना निर्माण हुनुभन्दा पहिले दार्चुलाको थोरै मात्र क्षेत्रमा सडक विस्तार भएको थियो । अहिले स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा धमाधम सडक निर्माण भइरहेका हुन् । 

 

दार्चुलाका अधिकांश वडा कार्यालयलाई सडक मार्गले छोए पनि नियमित यातायातका साधन भने थोरै वडामा सञ्चालित छन् । अधिकांश वडामा सडकको नयाँ ट्रयाक खुलाइएकाले यातायात सञ्चालनका लागि स्तरोन्नति गर्न आवश्यक छ ।

 

कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको टिंकरसम्म जोड्ने गरी महाकाली करिडोर निर्माण भइरहेको छ । यो सडक चीनको सीमा छुने गरी निर्माण भइरहेको हो । सडक निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको छ । 


महाकाली लोकमार्गको सडक विस्तारको काम चलेको छ । साँघुरो सडकलाई अहिले चौडा बनाउने काम भइरहेको छ । यस्तै, प्रदेश गौरवका योजनाअन्तर्गत खार-खलंगा-धुलिगडा र बिटुले पारिबगर खण्डेश्वरी सडक निर्माण चलिरहेको छ ।