close

रावाबेँसीको पहलमा निःशुल्क स्वास्थ्य शिविर 

रावाबेँसीको पहलमा निःशुल्क स्वास्थ्य शिविर 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिका वडा नम्बर १ कुभिन्डेको हरम्टारमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । स्वास्थ्य शिविर गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले उद्घाटन गरे । 

 

स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै आयोजना गरिएको शिविरको पहिलो दिन १ सय ४३ जनाको स्वास्थ्य जाँच र आवश्यक औषधी वितरण गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए । 

 

शिविरको पहिलो दिन ३० जनाको दाँत परीक्षण, १३ जना मोतियाबिन्दुका बिरामीको पहिचान, ७० वर्ष नाघेका आँखाका १२ जना बिरामीलाई निःशुल्क चस्मा वितरण, ३५ जनाको स्त्रीरोग चेकजाँच, १० जनाको पाठेघर समस्या भएका महिलाको नमुना संकलन, डायबिटिज समस्या भएका ३० जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

यस्तै, १० जनाको पिसाव जाँच, २५ जनाको भिडियो एक्स-रे र १२ जना बालबच्चाको स्वास्थ्य परीक्षण गरिएको छ ।

 

दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्योपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियानअन्तर्गत रावाबेँसीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । 

 

यसअघि ५ र ६ फागुनमा ऐँसेलुखर्क गाउँपालिकाको वडा नम्बर ३ ऐँसेलुखर्क, ८ र ९ फागुनमा केपिलासगढी गाउँपालिकाको वडा नम्बर ४ बाक्सिला र ११ र १२ फागुनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १० पाथेकामा २ दिने स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

 

पाथेकामा आयोजना गरिएको शिविरमा ५ सय ८० सर्वसाधारणले स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ्य शिविरमा १ जना एमडीजीपी, २ जना मेडिकल अफिसर, १ जना बालरोग विशेषज्ञ, १ जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिइरहेको छ ।

 

स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सर अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षण व्यवस्था मिलाइएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । 

 

जिल्लाको पूर्वी उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले २०६९ मा स्थापित जनसेवा सामुदायिक अस्पतालले १६ फागुनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा स्वास्थ्य शिविर गर्ने भएको छ । 

 

जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउन्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह-आयोजनामा शुक्रबारदेखि विशेषज्ञसहितको स्वास्थ्य शिविर सुरु गरेको हो ।