close

साढे ४ वर्गकिलोमिटरको फेवा तालको आकार पौने ६ वर्गकिलोमिटर पुग्यो 

साढे ४ वर्गकिलोमिटरको फेवा तालको आकार पौने ६ वर्गकिलोमिटर पुग्यो 

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको पोखरामा रहेको फेवातालको आकार बढेको छ । हाल साढे ४ वर्गकिलोमिटर रहेको तालको आकार पौने ६ वर्गकिलोमिटर पुगेको हो ।

 

तालको सिमाना अध्ययन गर्न गठित समितिले ४० वर्षअघिको आकारमा ताललाई पुर्‍याउन सकिने प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको छ । 

 

२०३८ मा आईयुसीएनको प्रतिवेदनले तालको आकार ५.८ वर्गकिलोमिटर देखाएको छ । सोही आधारमा अहिलेको आकार बढेको अध्ययन समितिका संयोजक पुण्य पौडेलले जानकारी दिए ।

 

नयाँ प्रतिवेदनअनुसार ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा क्षेत्रफलको ताल बन्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समितिको प्रतिवेदन पारितका लागि मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

 

२ साताअघि समितिले प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो । अब यही प्रतिवेदनका आधारमा तालको जग्गा छानबिन हुनेछ । 

 

तालको पानी घटेका बेला दूषित जग्गा दर्ता गरेको आरोप छ । अध्ययन टोलीले दूषित जग्गा खोज्नेछ भने त्यसलाई सरकारको नाममा ल्याउन पहल गरिनेछ । ‘कहिलै पनि दोहोर्‍याएर अध्ययन गर्न नपर्ने गरी रिपोर्ट निकालेका छौँ । अझै केही अध्ययन बाँकी नै छ’, समिति संयोजक पौडेलले भने, ‘ताल पोखराको गहना हो । यसको संरक्षणमा सबैले चासो दिनुपर्छ ।’ 

 

उनका अनुसार ठ्याक्कै तथ्यांक नभए पनि केही दूषित रूपमा दर्ता गरिएका जग्गा तालमुनि छन् । त्यसलाई तालको नाममा ल्याइनेछ । 

 

समितिका सदस्य तथा पोखरा महानगर प्रमुख मानबहादुर जिसीले प्रतिवेदन सार्वजनिक हुनेबित्तिकै गुरुयोजना बनाउन ध्यान दिइने बताए । ‘ताल संरक्षण र विकासको गुरुयोजना बनाउनु छ । मापदण्ड पनि तय गर्छौं’, उनले भने, ‘गलत गर्नेलाई कारबाही हुन्छ । ताल संरक्षणका लागि महानगर जस्तोसुकै अप्ठेरो बेहोर्न तयार छ ।’ 

 

महानगरपालिकाले यसअघि निकालेको प्रतिवेदनअनुसार तालको मापदण्डभित्र पर्ने जग्गा र संरचनाको मुआब्जा दिँदा कम्तीमा ३० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । समितिले महानगरको प्रतिवेदनलाई समेत आधार बनाएर अध्ययन गरेको हो ।


समितिले ३ महिनासम्म अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । सर्वोच्च अदालतले २०७५ वैशाखमा ३ वटै सरकारका नाममा तालको सीमांकन, संरक्षण र सरसफाइका लागि फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनको क्रममा समिति गठन भएको हो । 

 

२०१८ मा फेवातालको आकार १० वर्गकिलोमिटर भएको रेकर्ड छ । त्यसपछिका प्रत्येक नापीमा आकार फरक– फरक पाइएको थियो । तर, हालको समितिले १० वर्गकिलोमिटरको ताल सम्भव नभएको बताएको छ ।

 

‘१० वर्गकिलोमिटर हुन ड्याम निकै अग्लो चाहिन्छ । त्यत्रो ड्याम छँदै थिएन । हामीलाई त्यो तथ्यांक गलतजस्तो लागेको छ’, समितिका सदस्यहरूले भने, ‘त्यसैले स्वाभाविक र सहज आकार खोजेका हौँ । यो तथ्यांकमा धेरै तथ्य छ ।’

 

गत कात्तिकमा कास्कीका पूर्वजिविस सभापति पुण्य पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो ।