close

बेरोजगारको सूची खोज्दै खोटेहाङ र जन्तेढुंगा

बेरोजगारको सूची खोज्दै खोटेहाङ र जन्तेढुंगा

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बेरोजगार व्यक्तिको सूचीकरण तयारी थालेको छ । 

 

स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा योगदान गरिने सय दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध भएर सार्वजनिक विकास निर्माणका काममा सहभागी हुन इच्छुक बेरोजगारको सूचीकरण तयारी थालेको हो । 


गाउँपालिकाले रोजगारीको हकसम्बन्धी ऐन, २०७५ तथा सोको नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिम आर्थिक वर्ष २०७८/७९ का लागि फागुनभित्रै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन र लाभग्राही परिचयपत्र लिन इच्छुक व्यक्तिलाई आग्रह गरेको छ । 

 

आफ्नो स्थायी बसोबास रहेको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत भएर लाभग्राही परिचयपत्र लिन सकिने गाउँपालिकाले जनाएको छ ।

 

लाभग्राही परिचयपत्र लिन नागरिकताको फोटोकपी र एक प्रति फोटोसहित वडा कार्यालयमा निवेदन दिन सकिने गाउँपालिकाले १३ फागुनमा जारी गरेको सूचनामा उल्लेख छ । 


जन्तेढुंगामा पनि बेरोजगारको सूचीकरण हुँदै 

 

जन्तेढुंगा गाउँपालिकाले पनि बेरोजगार व्यक्तिको सूचीकरण गर्ने तयारी थालेको छ । रोजगारीको हकसम्बन्धी ऐन २०७५, सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका, २०७५ (पहिलो संशोधन, २०७७) बमोजिम गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बेरोजगार व्यक्तिको सूचीकरण तयारी थालेको हो । 

 

आगामी आर्थिक वर्षका लागि न्यूनतम रोजगारीमा संलग्न हुन चाहने विपन्न तथा जीवनयापन जोखिममा परेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई सूचीकृत हुन गाउँपालिकाले फागुनभित्र निवेदन पेस गर्न सूचना जारी गरेको छ । 

 

बेरोजगार व्यक्तिको सूचीमा समावेश हुन चाहनेले १-१ प्रति फोटो, नागरिकताको फोकपीका साथ आ-आफ्नो वडा कार्यालयमा निवेदन पेस गर्न पाउने व्यवस्था मिलाइएको जन्तेढुंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर शाहले जारी गरेको सूचनामा उल्लेख छ । 


व्यक्तिगत, पारिवारिक विवरण, आयआम्दानी तथा अन्य पेसा, व्यवसायलगायत सम्पूर्ण विवरण समेटेर प्रत्येक वडा कार्यालय र रोजगार सेवा केन्द्रमा निवेदन फर्म भर्न सकिनेछ । प्राप्त आवेदनका आधारमा अघिल्लो वर्ष बेरोजगारमा सूचीकृत भएका नागरिकको नवीकरण एवं छुट भएकाको सहभागिता निश्चित गरिनेछ । 


सय दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध हुन चाहने बेरोजगारमा सूचीकृत नागरिकलाई गाउँपालिकाभित्रका सडक मर्मत, विद्यालय तथा धार्मिक क्षेत्रको घेराबारा हाल्ने, सडकको टेवा, पर्खाल निर्माण, पैदल तथा पर्यटन मार्ग सरसफाइलगायत काममा खटाउने गरिएको गाउँपालिकाले जनाएको छ ।