close

महिला हिंसा न्यूनीकरण गर्न मोरङका १७ वटै पालिका एकजुट

महिला हिंसा न्यूनीकरण गर्न मोरङका १७ वटै पालिका एकजुट

Trulli
ADVERTISEMENT

मोरङ- मोरङका स्थानीय तह र प्रशासनलाई दिइएको जिम्मेवारीअनुरूप कानुन पालना गराउने काम सुरु भइरहेका छन् ।

 

महिलामाथि हुने घरेलु हिंसा, यौन दुर्व्यवहार, हत्याजस्ता घटना बढ्दै गएएपछि संकल्प प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठकले त्यस्ता घटना न्यून गर्ने अभियान चलाउन सरकारलाई निर्देशन दिएको थियो ।

 

स्थानीय तहहरूले महिला हिंसा न्यूनीकरण गर्न विभिन्न पहलकदमी गराइरहेका छन् । मोरङमा केही स्थानीय तहले विद्यार्थीलाई सिठ्ठी दिनेदेखि महिला हिंसा न्यूनीकरण गर्न विद्यालयमै अतिरिक्त पठनपाठनको कामसमेत गरिरहेका हुन् । 


मोरङको सुनवर्सी नगरपालिकाका केही विद्यालयमा गैरसरकारी सस्थासँगको सहकार्यमा कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थीलाई सिठ्ठी वितरण गरिएको हो । ‘विद्यार्थीलाई कसैले आक्रमण गर्न खोजे उनीहरूले सिठ्ठी बजाउनेछन्,’ सुनवर्सी नगरपालिका उपप्रमुख मञ्जुकुमारी राईले भनिन्, ‘सिठ्ठीको आवाज सुनेपछि अरूले थाहा पाउँछन् ।’ 

 

यस्तै, धनपालथान गाउँपालिकाले विद्यालय तहमै सातामा १ दिन महिंला हिंसा विषय पढाउने तयारी थालेको छ । महिला शिक्षकबाटै पठनपाठन गराउने तयारी अन्तिम चरणमा पुगेको गाउँपालिका उपप्रमुख नसिमा वानुले जानकारी दिइन् ।

 

‘विद्यालयमा महिला हिंसा न्यूनीकरण तथा हिंसाका घटनालाई न्यूनीकरण गर्न र त्यसको कानुनी उपचारलगायत विषयमा पठनपाठन गराउँदै छौँ’, उनले भनिन् ।

 

पठनपाठन फागनुभित्रै सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि तिनलाई विभिन्न किसिमका तालिमसमेत दिइँदै आएको छ ।

 

आत्मरक्षा तालिम तथा सचेतनासम्बन्धी कार्यक्रम गरिँदै आएको स्थानीय सरकारले बताएका छन् । विद्यालय तथा क्याम्पसमा पढ्ने महिला आफ्नो सुरक्षा आफैँ गर्न सक्ने होउन् भनेर तालिम दिई सचेतना कार्यक्रममा समेत जोड दिने गरेको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन् । 

 

महिला हिंसा रोकथाम तथा न्यूनीकरण गर्न अझै पनि कानुनी अड्चन रहेको महिला जनप्रतिनिधिको बुझाइ छ । फरक-फरक पालिकमा छुट्टाछुट्टै कानुन बनेकाले समेत समस्या हुने गरेको उनीहरूको भनाइ छ । 


मोरङमा १७ वटै पालिकमा एकै प्रकृतिको कानुन कार्यान्वयनमा ल्याउने तयारी छ । अन्तरपालिका साझा सरोकार मञ्च नाम दिएर मोरङका स्थानीय तहले विभिन्न गतिविधि गरिरहेका छन् ।

 

उक्त मञ्चमा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी हुने गरेका छन् ।

 

स्थानीय सरकार स्वायत्त भए पनि मोरङमा भने नयाँ अभ्यास गरिरहेका हुन् । स्थानीय सरकारका लागि चाहिने ऐन-नियममा एकरूपता ल्याएर साझा सन्देश दिन खोजिएको साझा सरोकार मञ्च मोरङका संयोजक तथा बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

 

सबै स्थानीय तहमा एकै प्रकृतिका कानुन निर्माण गर्दा कार्यान्वयन गर्नसमेत सहज हुने सुवेदी बताउँछन् । मोरङमा १ महानगर, ८ नगरपालिका र ८ गाउँपालिका छन् ।