close

निजगढमा चेपाङ विद्यार्थीलाई आधारभूत तहको शिक्षा निःशुल्क 

निजगढमा चेपाङ विद्यार्थीलाई आधारभूत तहको शिक्षा निःशुल्क 

Trulli
ADVERTISEMENT

बारा- निजगढका नगरप्रमुख सुरेशकुमार खनालले अतिविपन्न सूचीमा रहेका अल्पसंख्यक चेपाङ समुदायका विद्यार्थीलाई नगरपालिकाले आवासीय सुविधासहित आधारभूत तहको शिक्षा निःशुल्क गरिने बताएका छन् ।

 

शिव शक्तेश्वर आधारभूत विद्यालयको ५२औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख खनालले चेपाङ समुदायका विद्यार्थीका लागि नगरपालिकाले आवासगृह निर्माण गर्न लागेको जानकारी दिए । ‘नगरपालिकाले चालू आर्थिक वर्षमै आवास निर्माण सुरु गर्ने प्रक्रिया अघि बढेको छ’, उनले भने ।

 

मजदुरीको सिलसिलामा चेपाङ समुदायका अभिभावाकले आफ्ना बालबच्चालाई समेत सँगै श्रममा लैजाने हुँदा उनीहरूको अध्ययनमा असर परेको देखिएपछि आवाससहितको निःशुल्क शिक्षा दिने अवधारणा अघि सारेको खनालले बताए ।

 

‘वडा नम्बर १३ डम्मरपुरस्थित शिव शक्तेश्वर आधारभूत विद्यालयमा चेपाङ आवास निर्माण गर्ने योजना छ,’ नगरप्रमुख खनालले भने, ‘आवासगृहसहितको अध्यापन व्यवस्था गरेपछि चेपाङ समुदायको अध्यापनमा चासो बढ्ने अपेक्षा छ ।’ 

 

आवासगृहमा विद्यार्थीका लागि खानासहित शैक्षिक सामग्रीलगायत अन्य आवश्यक सामग्री नगरपालिकाले नै व्यवस्था गर्नेछ । आधारभूत तहको अध्ययन गर्दागर्दै बालबालिकाले बीचैमा पढाइ छाड्दा चेपाङ समुदायका विद्यार्थीको शैक्षिक स्तर माथि उठ्न नसकेको खनालको भनाइ छ ।

 

निजगढको १३ नम्बर वडामा ३ दर्जन बढी चेपाङ परिवारको बसोबास छ । आर्थिक रूपमा अतिविपन्न चेपाङ समुदायको शैक्षिक स्तर न्यून छ । बाराको निजगढसहित मकवानपुर, धादिङ, चितवन, तनहुँ, गोरखा, लमजुङमा चेपाङ समुदायको बसोबास रहेको छ । 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घलानको सभापतित्वमा सम्पन्न कार्यक्रममा वार्षिकोत्सवमा नगरपालिका उपप्रमुख लीलादेवी लामिछाने खनाल, वडा नम्बर १३ का वडाध्यक्ष सूर्य घलानलगायतको सहभागिता थियो ।