close

शिलान्यास भएको २० वर्षपछि बल्ल अघि वढ्यो कोल्टी–मार्तडी सडक 

शिलान्यास भएको २० वर्षपछि बल्ल अघि वढ्यो कोल्टी–मार्तडी सडक 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मम्मको करिब ४२ किलोमिटर सडक निर्माण अगाडि बढेको छ । कोल्टी–मार्तडी सडक खण्ड शिलान्यास भएको करिब २० वर्षपछि सडक निर्माणले गति लिएको हो । जिल्लाको पूर्वी उत्तरी क्षेत्रका ४ वटा स्थानीय तहसहित छिमेकी हुम्ला, मुगु र कालीकोटबासीको आउजाउ लक्षित गरी यो सडक निर्माण हुन लागेको हो । 

 

सडक खण्ड शिलान्यास भएको २० वर्षपछि कोल्टीसम्म पक्की सडक निर्माण गर्ने गरी निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरूले सडक निर्माण धमाधम गरिरहेका छन् । सदरमुकाम मार्तडीदेखि ढम्कनेसम्म सडकको डबल कटिङ, मेसिनरी वाललगायत काम धमाधम भइरहेका हुन् ।

 

२ साताअघि मात्रै सुदूरपश्चिम प्रदेशका सांसद बलदेव रेग्मीले मार्तडी–कोल्टी सडकलाई समयमै सम्पन्न गर्न ठेकेदारलाई जिल्ला प्रशासन कार्यालय बाजरामा बोलाएर कामलाई गति दिन निर्देशन दिएका थिए । सांसद रेग्मीको निर्देशनपछि सडक निर्माणको जिम्मा पाएको बानियाँ कन्स्ट्रक्सनका विष्णु रावत र ग्याल्वा कन्स्ट्रक्सनका नवराज पुरीले सडक निर्माण अगाडि बढाएका हुन् ।

 

४२ किलोमिटर रहेको मार्तडीदेखि कोल्टीसम्मको पक्की सडक निर्माणका लागि ग्याल्वा कन्स्ट्रक्सन र बानियाँ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । मार्तडीदेखि कोल्टीसम्म ४२ किलोमिटर पक्की सडक निर्माणका लागि संघ र प्रदेश सरकारले १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपैयाँ विनियोजन गरेको छ । यसअघि मार्तडी–कोल्टी सडकमा खाल्डाखुल्डी भएपछि जिप तथा ट्रयाक्टलाई आउजाउ गर्न निकै समस्या थियो ।

 

जगन्नाथले दियो ३ सय ७८ जनालाई रोजगारी

 

बाजुराको जगन्नाथ गाउँपालिकाले पालिकाभित्रका ३ सय ७८ जनालाई रोजगारी दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले विपन्न परिवारका नागरिकलाई रोजगारी दिएको हो ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा वडा नम्बर १ देखि ६ सम्मका १ सय ३ ५ जना र आर्थिक वर्ष २०७६÷७७ मा १ सय ३० जनाले १ महिने रोजगाी प्राप्त गरेका गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।

 

जगन्नाथले आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाभित्रका बेरोजगार युवाहरूलाई गाउँमै रोजगारी दिने उद्देश्यले अतिविपन्न घरधुरीलाई १ महिने रोजगारी दिन लागि पालिकामा अध्यक्ष रोजगार कार्यक्रमको नीति बनाएर छैटौँ गाउँभाले पास गरेपछि आव २०७६÷७७ मा ६ वडाका १ सय ८० जनाले ३० दिनको रोजगारी प्राप्त गरेको विकले बताए ।

 

आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन चाहने बेरोजगार युवायुवतीका लागि २०७७ साउनमा आवेदन फर्म भर्न सूचना जारी गरेको थियो । उक्त सूचनाको आधारमा जगन्नाथ गाउँपालिकाबाट १ हजार ६३ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।