close

रुकुम पूर्वमा वडास्तरमै कोरोनाविरुद्धको खोप लगाइँदै 

रुकुम पूर्वमा वडास्तरमै कोरोनाविरुद्धको खोप लगाइँदै 

Trulli
ADVERTISEMENT


रुकुम पूर्व– रुकुम पूर्वका स्थानीय तहका सबै वडामा २३ फागुनदेखि खोप केन्द्र स्थापना गरी वडागत रूपमै कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

 

कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वको व्यवस्थापनमा जिल्लाका सबै वडामा खोप केन्द्र स्थापना गरी खोप लगाइने भएको हो । 

 

यसअघिका पहिलो र दोस्रो चरणको खोप एकै ठाउँ रुकुम पूर्व अस्पताल रुकुमकोटबाट मात्र खोप अभियान सञ्चालन गरिएको थियो । यसअघिको खोप अभियानमा दुर्गम तथा भौगोलिक विकटका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कार्यालय सहयोगी नै रुकुम पूर्व अस्पताल रुकुमकोटमा आउन सकेका थिएनन् ।

 

तेस्रो चरणको खोप अभियानमा ५५ वर्ष उमेरदेखि माथिका ज्येष्ठ नागरिक, शिक्षकको सहजताका लागि जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा जिल्लाका प्रत्येक वडामै खोप केन्द्र स्थापना गरी तेस्रो चरणको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।

 

तेस्रो चरणको खोप अभियानमा पहिलो र दोस्रो चरणमा छुटेकासँगै ५५ वर्ष उमेरदेखि माथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजनिक सवारी साधनका चालक, सह–चालकलाई सम्बन्धित आ–आफ्नो वडाबाट कोरोनाविरुद्धको खोप दिने तयारी जिल्ला स्वास्थ्य कार्यालयले गरिरहेको प्रमुख ढकालले जानकारी दिए । 

 

खोपको सुरक्षा र खोप लगाउनेबारे जिल्लाका ३ स्थानीय तहका स्वास्थ्य संयोजक, स्वास्थ्य संस्थाका इञ्चार्जलाई आवश्यक तालिम दिई २३ फागुनबाट जिल्लामा प्रत्येक वडाबाट खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी निमप्रसाद गिरीले बताए ।


‘२३ र २४ फागुनमा सिस्ने गाउँपालिकाका ५ वटा स्वास्थ्य चौकी र नयाँ ३ वटा खोप केन्द्र स्थापना गरी ८ वटा खोप केन्द्रबाट खोप दिइनेछ’, सूचना अधिकारी गिरीले भने । उनका अनुसार भूमे गाउँपालिकामा २५ र २६ फागुनमा ५ वटा स्वास्थ्य चौकी र थप नयाँ ४ गरी ९ वटा खोप केन्द्रबाट र पुथाउत्तरगंगा गाउँपालिकामा २७ र २८ फागुनमा ६ स्वास्थ्य चौकी र थप नयाँ ९ गरी १५ वटा खोप केन्द्र स्थापना गरी वडागतबाट तेस्रो चरणको खोप अभियान सञ्चालन गरिनेछ ।

 

कोरोनाविरुद्धको खोप प्रभावकारी रहेकाले तेस्रो चरणमा आ–आफ्ना खोप केन्द्रमा गई खोप लगाउन पनि स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।


पहिलो र दोस्रो चरणमा उत्साहजनक सहभागिता 


पहिलो र दोस्रो चरणको खोप लगाउने अभियान उत्साहजनक भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणमा ४ सय ६७ जनालाई दिने लक्ष्य राखेकामा ३ सय ३८ जना र दोस्रो चरणमा ५ सय १ जनालाई खोप दिने लक्ष्य राखेकामा ४ सय १ जनाले लगाएका छन् ।

 

पहिलो र दोस्रो चरणका गरी ७ सय ८२ जनाले खोप लगाएकामा कुनैलाई सामान्य ज्वरो देखापरेको जनाइएको छ । रुकुम पूर्वमा १ सय ४ भाइल खोप आएकामा पहिलो चरणमा ३८ र दोस्रो ३७ भाइल खोप खर्च भएको छ भने बाँकी २९ भाइल खोप मौज्दात रहेको सूचना अधिकारी गिरीले जानकारी दिए । हाल जिल्लामा मौज्दात रहेको २९ भाइल तेस्रो चरणको अभियानमा अपुग हुने भएकाले थप खोप माग गरिने जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।