close

राजनीतिक खिचातानीले संकटमा सरकारी सिमेण्ट उद्योग, ७० प्रतिशतले घट्यो उत्पादन

राजनीतिक खिचातानीले संकटमा सरकारी सिमेण्ट उद्योग, ७० प्रतिशतले घट्यो उत्पादन

Trulli
ADVERTISEMENT

उदयपुर– गैडा सिमेन्ट उत्पादन गर्दै आएको पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन ७० प्रतिशतले घटेको छ । 


सरकारी स्वामित्वमा रहेको उद्योग राजनीतिक हस्तक्षेपका कारण धराशायी बन्दै गएको हो । राजनीतिक दलको भर्तीकेन्द्र बनाइँदा यस्तो अवस्था आएको हो । सरकारी स्वामित्वमा सञ्चालित उच्च गुणस्तरको गैडाछाप सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगमा अनावश्यक राजनीतिक हस्तक्षेप हुँदा जीर्ण बन्दै गएको छ ।


दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगबाट सरदर अहिले २ सय ५० मेट्रिक टन मात्र उत्पादन भएको छ ।  पूर्वाधार निर्माणमा अत्यन्त उपयोगी ठहरिएको गैंडा छाप सिमेन्टको प्रयोग गर्दा भौतिक संरचना दीर्घकालीन र टिकाउ हुने दाबी गरिन्छ । जापानी प्रविधिबाट उत्पादित गैंडा सिमेण्ट नेपालका धेरै सिमेन्टमध्ये अहिलेसम्मकै गुणस्तरीय प्रमाणित भइसकेको हुनाले भवन, सडक, पुल, नाला, कल्भर्टलगायत ठूलाठूला परियोजनामा प्रयोग नगर्नेहरु पछुताउनु पर्ने सिमेन्ट हो ।


गुणस्तरमा नेपालका सिमेन्टमध्ये अहिलेसम्म गैंडा जति राम्रो र गुणस्तरीय अन्य कुनै सिमेन्ट भएको इतिहास छैन । गैंडा सिमेन्टको प्रयोग गरेर बलियो पूर्वाधार बनाउन सकिने सिमेन्ट हुन् । २०४९ देखि व्यावसायिक उत्पादन सुरु भएको गैंडा सिमेन्टबाट निर्मित संरचना २०७२ को शक्तिशाली भूकम्पले समेत भत्काउन नसकेको उद्योगको दाबी छ ।


 भूकम्पले देशभर धेरै संरचना ध्वस्त गरेपनि ध्वस्त नभएका सबै संरचनामा गैँडा सिमेन्ट प्रयोग भएको पाइएको छ । वर्षौं वर्ष ढुक्क हुने ग्यारेन्टी भएको गैंडा सिमेन्ट दक्षिण एसियाकै उत्कृष्ट र गुणस्तरीय भएको उद्योगको दाबी छ । 

 

गैंडा सिमेन्टको पुसदेखि असारसम्म उच्च माग हुने गर्छ ।  सिमेन्टको उच्च माग भएपनि नीजि कम्पनीले दिने कमिशनको कारण उच्च माग भएको समय कम उत्पादन गर्ने गरेको आरोप उदयपुर सिमेन्ट उद्योगलाई लाग्दै आएको छ । 

 

सिमेन्ट उत्पादनमा कमी आएकै कारण उद्योगलाई आर्थिक व्ययभार थपिदै गएको छ । लामो समय देखि महाप्रवन्धक खाली भएर नयाँ महाप्रवन्धक गोपीकृष्ण न्यौपाने आए पनि उद्योगले सोचेभन्दा अति नै न्यून सिमेन्ट उत्पादन गर्दै आएको छ । 

 

पुसदेखि असारसम्मको समयलाई सिमेन्ट उद्योगको ‘पिक आवर’ मानिन्छ । यो समयमा विकास निर्माणको काम धेरै हुने भएकाले सिमेन्टको माग उच्च हुन्छ । त्यसैले सबै सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउने र अधिकतम उत्पादन गर्ने ध्याउन्नमा हुन्छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्टले १ माघमा महाप्रबन्धक पाएपनि अहिलेसम्म ११ हजार मेट्रिक टन मात्रै क्लिङकर उत्पादन गरेको उद्योगको तथ्याङकले देखाउँछ । 


माघ महिनामा ७ हजार ५ सय र फागुन महिनाको १४ गतेसम्म ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन भएको क्लिङकर उत्पादन विभागका प्रबन्धक रविचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार मेसिनरी सामान भएकोले बिग्रिने चल्ने भएकोले उत्पादनमा कम भएको हो ।


दैनिक ८ सय मेट्रिक टन उत्पादन गर्ने क्षमता भएपनि दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । पछिल्लो समय उत्पादनमा कमी आएको छ । नवनियुक्त महाप्रबन्धक न्यौपाने आएपछि उत्पादनमा झन घटेको उद्योगकै कर्मचारी बताउँछन् । 

 

आर्थिक वर्ष २०७५–०७६ मा २२ लाख ६२ हजार १ सय ४२ बोरा सिमेन्ट बिक्री भएको थियो भने आर्थिक वर्ष २०७६–०७७ मा कोरोनाका कारणले १६ लाख ४१ हजार ४७ बोरामा सिमित भयो । यस्तै चालु आर्थिक वर्षको सिमेन्ट बिक्री गर्ने लक्ष्य २७ लाख ७२ हजार बोरा भएपनि अहिलेसम्म १० लाख २२ हजार ८ सय ९१ बोरा सिमेन्ट मात्रै बिक्री भएको बिक्री विभाग प्रमुख रामबहादुर जिसीले जानकारी दिए ।

 

उद्योग २०४४ सालमा स्थापना भएर २०४९ सालदेखि व्यवसायिक उत्पादन शुरु भएको हो । उद्योगको बजार क्रमशः खुम्चँदै गएको तथ्यांकले देखाउँछ । कुनैबेला उद्योगका देशभर ११ सय डिलर थिए । अहिले करिब दुई सय मात्र छन् । 


यी डिलरले समेत सिमेन्ट बिक्री गर्न आनाकानी गर्दै आएका छन् । उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट बिक्री गर्ने डिलरलाई प्रतिबोरा १५–२० रुपैयाँ कमिशन दिइरहेको छ । तर, निजी क्षेत्रका उद्योगले डिलरलाई सय रुपैयाँसम्म कमिसन दिइरहेका छन् । सिमेन्ट खोज्दै आउने ग्राहकलार्ई डिलरले बढी कमिसन पाउने निजी उद्योगकै सिमेन्ट प्रस्ताव गर्छन् । 


अर्कातिर निजी क्षेत्रको तुलनामा उदयपुरको गैँडाछाप सिमेन्ट अलिक महँगो पनि छ । उद्योगले ५३ ग्रेडको ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ । निजी क्षेत्रको भन्दा उच्च गुणस्तर र लागत पनि महँगो पर्ने भएकाले बजार मूल्य बढी भएको उद्योगको तर्क छ ।