close

डिजिटल नमोबुद्धको अभियानमा अर्को फड्को, किसानलाई ‘जिओ कृषि एप’

डिजिटल नमोबुद्धको अभियानमा अर्को फड्को, किसानलाई ‘जिओ कृषि एप’

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन र बजारबारे जानकारी पाउने भएका छन् नमोबुद्ध नगरपालिका, इसिमोड, सिप्रेड र पाथवेको सहकार्यमा डिजिटल कृषि सूचना केन्द्र, सरल कृषि विस्तार सेवा (जिओ कृषि एप) हस्तान्तरण भएसँगै अब किसानले प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई थप व्यवस्थित र उत्पादनमूलक बनाउन सक्ने भएका हुन् ।


आइतबार भकुन्डेबेँसीमा आयोजित कार्यक्रममा इसिमोड, सिप्रेड र पाथवेको टोलीले नगरप्रमुख टिपी शर्मा तिमल्सिनालाई सेवा हस्तान्तरण गरेको छ । कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले ११ वटै वडाका लागि सेवा हस्तान्तरण गरे । 

 

सेवा सुरु भएसँगै डिजिटल नमोबुद्धको अभियान एक कदम अगाडि बढेको छ । अब नमोबुद्धका किसानले आफूले कुन समय कुन बाली लगाउने भन्नेबारे मोबाइल एपमार्फतै जानकारी पाउनेछन् भने दैनिक रूपमा बजारभाउको जानकारी पनि पाउनेछन् । 


यस्तै, बाली लगाउने क्रममा कुनै समस्या आए त्यसको समाधानका साथै रोग किरा देखापरे त्यसलाई नियन्त्रण गर्ने उपायसमेत मोबाइलमार्फत नै जानकारी पाउनेछन् । किसानलाई मोबाइल एपमै विज्ञहरूको सेवा उपलब्ध गराइनेछ ।


एपमा किसानदेखि प्राविधिक र बजारसम्म समटिएको जिओ कृषि इन्क्युवेसन सेन्टरका कार्यक्रम निर्देशक रादीप तण्डुकारले जानकारी दिए । उनका अनुसार किसानले कहाँ, कसरी के रोप्ने र कसरी बिक्री गर्ने भन्नेबारे सबै जानकारी एपमार्फत नै पाउनेछन् ।

 

‘बाली रोपाइँदेखि कटाइसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ,’ तण्डुकारले भने, ‘यसले किसानलाई कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्त गराउन मद्दत पुग्नेछ ।’

 

इसिमोडकी इकोसिस्टम एनालिस्ट इरिका उदासका अनुसार किसानले यो एप प्रयोग गर्दा धेरै खर्च बेहोर्नुपर्दैन । १ सय रुपैयाँ जति खर्च गर्दा वर्षैभरि एप चलाउन सकिनेछ ।

 

किसानलाई सहज, सुलभ होस् भन्ने उद्देश्यले एपलाई ‘अफलाइन’ मै चल्न सक्ने व्यवस्था गरिएको छ । सूचनामा किसानको पहुँच आवश्यक रहेको कुरालाई दृष्टिगत गर्दै आफूहरूले जिओ कृषिको अवधारणा ल्याएको उदासले बताइन् । 

 

उनका अनुसार इसिमोड र सिप्रेडले पाथवेसँगको सहकार्यमा नमोबुद्धमा पहिलो पटक यो सेवा सुरु गरेको हो । यसबाट राम्रो मूल्यमा किसानले आफ्ना उत्पादन बिक्री वितरण गर्न सक्ने अपेक्षा उदासको भनाइ छ । 

 

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले आफूहरू निर्वाचित भएपछि डिजिटल नमोबुद्धको अवधारणा अघि सारिएको र अब कृषिमा समेत प्रविधिको प्रयोगले त्यसमा थप मद्दत पुगेको जानकारी दिए । यसअघि नै शिक्षा क्षेत्रमा यु लर्निङ, टकिङ टिचरलगायत कार्यक्रममार्फत डिजिटल नमोबुद्धको अवधारणालाई अघि बढाइएको तिमल्सिनाले बताए । 

 

‘कृषि र वातावरणमैत्री नगर बनाउने हाम्रो अभियान रहेको छ । वातावरणमैत्री नगरको योजनालाई विभिन्न कार्यक्रममार्फत मूर्त रूप दिएका हौँ’, तिमल्सिनाले भने । जिओ कृषि एपमार्फत किसानले बढीभन्दा बढी फाइदा लिन सक्ने र नगरपालिकाले यसको सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिने उनले प्रतिबद्धता व्यक्त गरे । 

 

यो एप परीक्षणकै क्रममा नमोबुद्धका ३ सय ६५ जना किसान आबद्ध भइसकेका छन् । एपमा नमोबुद्धभित्र लगाइने २० वटा बालीलाई प्राथमिकताका साथ राखिएको छ भने अन्य बालीलाई पनि समेट्दै लगिनेछ ।

 

परीक्षणकै क्रममा यो एप प्रयोग गरिरहेका अगुवा किसान भरत न्यौपानेले आफूहरूका लागि यो निकै उपयोगी र आवश्यक रहेको बताए । एपमार्फत आफूहरूले कृषि उत्पादनका लागि आवश्यक जानकारी पाउनुका साथै उत्पादित कृषि उपज बजारको खोजी गर्न सहज हुने उनको धारणा छ ।

 

कार्यक्रममा नमोबुद्धका उपप्रमुख रामदेवी तामाङ, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडाअध्यक्षहरू सञ्जीव ढकाल, उद्धवप्रसाद काफ्ले, कुलप्रसाद न्यापाने, धर्मसिं लामा, नगर कार्यपालिका सदस्यहरू तथा किसान प्रतिनिधिको सहभागिता थियो । नमोबुद्धका वातावरण अधिकृत सन्तोष काफ्लेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सिप्रेडका कार्यक्रम संयोजक किरण भुसालले स्वागत मन्तव्य राखेका थिए ।