close

जनप्रतिनिधि भन्छन्ः धमिलो पानी तताएर खानू

जनप्रतिनिधि भन्छन्ः धमिलो पानी तताएर खानू

Trulli
ADVERTISEMENT

दाङ– दाङको बबई गाउँपालिका वडा नम्बर ५ रिमखोलाका ३४ वर्षीय निमा थापाले घरमा खानेपानी ल्याउनकै लागि दैनिक ३÷४ घन्टाको समय छुट्याउँछिन् । रिमखोलामा खानेपानीको सहज पहुँच नहुँदा २ घन्टा बढी लगाएर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

 

घरघरमा धाराका टुटी जडान गरिएको छ । धारामा पानी नआएपछि विकल्पमा खोलाको पानी खानुपर्ने र त्यो पनि सहज रूपमा पाउन नसक्ने अवस्था रहेको थापाले सुनाइन् ।

 

करिब २ घन्टा लगाएर खोलाको पानी ल्याउनुपर्ने बाध्यता छ । सङ्लो पानी खान पाउँदैनौँ,’ उनले भनिन्, ‘कहिलेकाहीँ घरमा कोही पाहुना आए धाराको पानी खोज्छन् । त्यस्तो बेलासमेत पाहुनालाई धमिलो पानी खुवाएका छौँ ।’ खोलाको धमिलो पानी खाँदा बिरामी पर्ने गरेको उनी सम्झिन्छिन् तर नखाइनहुने बाध्यतामा यस क्षेत्रका वासिन्दा छन् ।

 

बबई गाउँपालिका वडा नम्बर १ रिमखोलाकै धनी सिँजालीको समस्या पनि उस्तै हो । गाउँमा स्वच्छ खानेपानी नहुँदा उनको परिवार पनि खोलाकै पानी प्रयोग गर्न बाध्य छ ।

 

‘हिउँदमा त खोलाको पानी जसोतसो पिउन सकिने हुन्छ तर बर्खामा पिउन सकिँदैन । धमिलो पानी हुन्छ, कसरी पिउनू ? पानी पर्न थाल्यो भने खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्ता हुन्छ,’ उनले भनिन् ।

 

खोलामा हिउँदमा स्याबाली लागेको र वर्षामा धमिलो पानी पिउनुपर्ने बाध्यता रहेको उनले सुनाइन् । ‘खोलाको पानी पनि हिउँदमा पर्याप्त मात्रामा हुँदैन । बर्खामा खोला आएर धमिलो हुन्छ,’ उनले भनिन्, ‘खानेपानीको व्यवस्था सहज रूपमा कहिले होला ।’

 

नेताले पानी दिने भने पनि आफूहरूको वर्षौंदेखिको खानेपानी समस्या अन्त्य हुन नसकेको उनको आरोप छ । ‘खानेपानीका लागि बजेट आउँछ । नेताहरू चुनावका बेला गाउँ आउँदा अब खानेपानी आयोजना बनाउँछौँ भन्छन् । तर, अझै हामीहरू खोलाकै पानी पिउन बाध्य छौँ,’ उनले भनिन्, ‘फोहर पानी खाँदा कति बर्खामा झाडापाखालाले सताउने गर्छ, नजिकमा अस्पताल पनि छैनन् ।’

 

संघीय व्यवस्था लागू भएर गाउँ–गाउँमा स्थानीय सरकार आए पनि रिमखोलाबासीका समस्या ज्यूँका त्यूँ रहेको उनको गुनासो छ । स्थानीय सरकार आए पनि खानेपानी व्यवस्थापनमा ध्यान नदिइएको स्थानीय टेकी डाँगी बताउँछिन् ।

 

‘खोलाकै पानीले अहिलेसम्म बाँचेका छौँ । मैले यो जुनीमा धाराको पानी पिउन पाउँदिनँ होला,’ उनले भनिन्, ‘जतिसुकै सरकार आए पनि हाम्रा दुःख हटेनन् । चुनावमा यो बनाउँछौँ, ऊ बनाउँछौँ भन्छन् तर पछि हेर्दैनन् ।’

 

खानेपानी समस्याबाट बबईको वडा नम्बर १ र ५ रिमखोलाका नागरिकले सास्ती भोग्दै आएका छन् । रिमखोलामा खानेपानीको सहज पहुँच नहुँदा करिब २ सय घरधुरी स्वच्छ खानेपानीबाट वञ्चित रहेका हुन् । खानेपानीका लागि खोलाकै पानीको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय कल्पना रसाइलीले बताइन् ।

 

भौगोलिक हिसाबले अरू वडाको तुलनामा केही बस्ती नमिलेका कारण पनि खानेपानी विस्तार गर्न नसकिएको बबई वडा नम्बर १ का वडाध्यक्ष खड्गबहादुर कुवँरले बताए ।

 

‘खानेपानीको स्रोत अभावका कारण स्वच्छ पिउने पानी सबै ठाउँ पुर्‍याउन सकिएको छैन,’ उनले भने, ‘टाढाबाट पानी ल्याउन बजेट धेरे चाहिने भएकाले अहिले तत्काल खानेपानी आयोजना निर्माण गर्न नसकिएको हो ।’

 

स्वच्छ खानेपानी सुविधा पुर्‍याउन नसकिए पनि खोला, इनारको पानी प्रयोग गर्दै आएका नागरिकलाई तताएर मात्रै खान आग्रह गरिँदै आएको उनले सुनाए ।

 

यस्तै, बबईको वडा नम्बर ५ का वडाध्यक्ष डम्बरबहादुर श्रीस मगरले वडा नम्बर १ र ५ मा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि डीपीआर निर्माणको काम अघि बढेको जानकारी दिए ।

 

‘जिल्ला खानेपानीले डिपिआर निर्माणको काम गरेको छ,’ उनले भने, ‘अब डिपिआर बनेपछि उपभोक्ता समिति निर्माण गरी काम अघि बढाउने प्रक्रियामा छौँ ।’ अबको १÷२ वर्षभित्र वडा नम्बर १ र ५ का नागरिकलाई स्वच्छ खानेपानी पु¥याउने योजना रहेको उनको दाबी छ ।