close

हावाले छाना उडायो, खुला आकाशमुनि कखरा 

हावाले छाना उडायो, खुला आकाशमुनि कखरा 

Trulli
ADVERTISEMENT

मुगु– मुगुको एक विद्यालयमा हावाहुरीले छाना उडाएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । छायानाथ रारा नगरपालिकाको वडा नम्बर  ६ लिउडी गाउँमा रहेको श्रीमष्टा आधारभूत विद्यालयमा बुधबार दिउँसो १  बजे चलेको हावाहुरीले २ कोठे भवनको २ वटै कोठा हावाले छाना उडाएपछि विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।

 

हावाले विद्यालयको छाना उडाउनुका साथै पर्खाल पनि भत्काएको छ भने लाखौँ मूल्य बराबरको क्षति भएको विद्यालयका प्रधानध्यापक तुलबहादुर कार्कीले जानकारी दिए ।

 

उनका अनुसार विद्यालयमा पढ्ने २२ जना विद्यार्थीलाई खुला आकाशमुनिको चौरमा पढाउनुपर्ने बाध्यता छ । हावाले छाना उडाउँदा कुनै मानवीय क्षति भने नभएको उनले बताए । 

 

‘विद्यालयको भवन हुँदा हावाहुरी, हिउँ, पानी, गर्मी समय कोठाभित्र बसेर पठनपाठन गराइरहेका थियौँ । बुधबार एक्कासि आएको हुरीले विद्यालयको छाना उडाएपछि विद्यार्थीलाई पठनपाठनमा निकै समस्या भएको छ’, उनले भने ।


 
हिउँद लागेसँगै हावाहुरी चल्ने, आगलागीका घटना हुने हुँदा कुनै दैवीप्रकोपका घटना भए जिल्ला दैवीप्रकोप उद्धार समितिको जिल्ला प्रशासन कार्यालय मुगुमा जानकारी गराउन र सजग रहन आग्रह गरिएको समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख चन्द्रबहादुर शिवाकोटीले बताए ।