close

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– सरकारले गत २० पुसमा रोक्का गरेको शिक्षकहरूको जिल्लान्तर सरुवा सर्तसहित फुकुवा गरेको छ । देशभरका सबै शिक्षा विकास तथा समन्वय इकाइहरूमा परिपत्र गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सर्तसहित शिक्षक सरुवा गर्न सकिने जनाएको हो ।

 

केन्द्रका शाखा अधिकृत भुवनेश्वर जोशीका अनुसार शिक्षकको जिल्लान्तर सरुवाका लागि ६ वटा सर्त पालना गर्नुपर्नेछ । अब शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै १ स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलान सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र गर्न सक्नेछ ।

 

दरबन्दी मिलान सम्पन्न नगरेका स्थानीय तहहरूमा जिल्लान्तर सरुवा तथा अन्तरस्थानीय तह सरुवा गर्न नपाइने सर्त सरकारले राखेको छ । यस्तै, स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा सिफारिस गरिएको पदमा जिल्लान्तर तथा अन्तरस्थानीय तह सरुवा गरी पदपूर्ति गर्नसमेत पाइने छैन ।

 

स्थानीय तहअन्तर्गतको विद्यालयमा रिक्त रहेको शिक्षक दरबन्दीमा सरुवाबाट पदपूर्ति गर्नुपर्ने अवस्था भए सरुवा गर्नुपूर्व स्थायी पदपूर्तिका लागि सिफारिस भएको संख्यामा असर नपर्ने गरी र सिफारिसअनुसार नियुक्ति पदस्थापना गर्ने सुनिश्चित नभई उक्त रिक्त दरबन्दीमा सरुवा गर्नसमेत बन्देज गरिएको छ ।

 

खुद पुल दरबन्दी (दरबन्दी कटौतीमा परेका) स्थानीय तहको खुद पुल रहेको तहको शिक्षक दरबन्दीमा सरुवा गर्नसमेत नपाइने भएको छ । पारस्परिक सरुवाको हकमा विषय र तह मिल्ने भए मात्र सम्बन्धित विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको सिफारिसमा नियमानुुसार सरुवा गर्न सकिनेछ ।

 

शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरूको विवरण पाक्षिक रूपमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउनुपर्ने सर्त राखिएको छ ।