close

क्रसर धन्धामा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष 

उद्योगले बस्ती जोखिममा पारेपछि स्थानीय आन्दोलित 

क्रसर धन्धामा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष 

उद्योगले बस्ती जोखिममा पारेपछि स्थानीय आन्दोलित 

Trulli
ADVERTISEMENT

मोरङ– क्रसर उद्योगले मापदण्डविपरीत खोला उत्खनन गर्दा केराबारीको एउटा वडाको बस्ती खतरामा परेपछि स्थानीय आन्दोलित भएका छन । 

 

२ वटा क्रसर उद्योगले मापदण्डविपरीत उत्खनन गर्दा केराबारी वडा नम्बर ८ आमजुंगीका करिब ५ सय परिवार विस्थापित हुने अवस्थामा पुगेपछि स्थानीयले केराबारी गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

 

खोला किनारमा ठूल्ठूला खाल्डा बनाएको र खोलामा च्यानल बनाउनुपर्नेमा किनाराबाट गिटी खनेर लैजानाले बस्ती नै जोखिममा परेको स्थानीय देवेन्द्रकुमार कार्कीले बताए । 

 

स्थानीयले खोला उत्खनन बन्द गर, क्रसर उद्योग बन्द गर, यस्ता अध्यक्ष चाहिँदैन भन्दै नाराबाजी गरे । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की स्वयं क्रसर उद्योगी भएको र उनकै मिलेमतोमा प्राकृतिक स्रोतको दोहन भइरहेको भन्दै स्थानीयको दाबी छ । 

 

महादेव मिनरल इन्ड्रस्टी र शिवम् क्रसरका कारण केराबारी गाउँपालिका वडा नम्बर ८ आमजुंगी बस्ती जोखिममा परेको स्थानीय बताउँछन् । खदम खोलामा २ वटा उद्योगले वातावरणीय परीक्षण प्रतिवेदनले स्वीकृति दिएको स्थानभन्दा बाहिर जथाभावी उत्खनन गरेको आमजुंगीकी अगुवा खड्गमाया खड्काले बताइन् । प्रतिवेदन स्वीकृत गर्दासमेत मिलेमतो हुने गरेको उनको आरोप छ ।

 

केराबारीमा गाउँपालिका अध्यक्ष रोहित कार्की, वडा नम्बर ८ का वडाअध्यक्ष मनोज खड्का र इटहरी उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका व्यवसायी भीम पौडेलको क्रसर उद्योगले वर्षाैंदेखि त्यस क्षेत्रमा उत्खनन् गर्दै आएको छ । 

 

हरेक वर्ष अवैध उत्खननको आरोप उनीहरूमाथि लाग्दै आइरहेको छ । क्रसर उद्योग सञ्चालक भीम पौडेलले जनप्रतिनिधिदेखि प्रहरी प्रशासन सबैलाई मिलाएकाले अवैध उत्खनन नरोकिएको स्थानीयको दाबी छ । क्रसर सञ्चालन गर्न प्रहरीले सुरक्षा दिने गरेको समेत स्थानीय बताउँछन् । 


आक्रोशित स्थानीयले महादेव मिनिरल इन्ड्रीिटजको कार्यालयमा झ्यालका सिसासमेत तोडफोड गरेका छन् । शनिबार खोलामा उत्खनन गर्न गएका टिपर तथा जेसिबीलाई नियन्त्रणमा लिएर उत्खनन बन्द गर्न स्थानीयले प्रशासन तथा क्रसर उद्योगसँग माग गरेका थिए । 

 

प्रहरीले नै पौडेलको टिपरलाई छोएर देखा भन्दै धम्की दिएपछि आक्रोशित स्थानीयले केही सवारीका साधन तथा कार्यालयमा तोडफोड गरेका हुन् । गाउँतर्फको क्रसरको मेसिन हटाउन आन्दोलन गरेका स्थानीयले आइतबार बिहानैदेखि केराबरी गाउँपालिका घेराउ गर्दै जनप्रतिनिधि र प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरे ।

 

गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले भने आफ्नो निकायबाट यो समस्या समाधान नहुने फोनमा बताए । बाहिर नाराजुलुस चलिरहँदा कार्यालयभित्रै रहेका अध्यक्ष कार्कीले पत्रकारसँग भेट गर्न चाहेनन् ।