close

साकेलामा खुल्यो मेलमिलाप केन्द्र 

साकेलामा खुल्यो मेलमिलाप केन्द्र 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिकामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स्थानीय विवादलाई वार्ता र छलफलका माध्यमबाट गाउँमै मिलाउने लक्ष्यका साथ गाउँपालिका उपाध्यक्ष सरिता खड्काको कार्यकक्षमै रहने गरी सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।


घरपरिवार, छिमेकीभित्र आउने सानातिना विवादलाई तालिम प्राप्त मेलमिलापकर्ताको सहयोगमा दुवै पक्षलाई सहमतिमा ल्याएर समुदाय स्तरमै विवाद समाधानका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको हो । 

 

सामुदायिक मेलमिलाप केन्द्रको जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले उद्घाटन गरे । गाउँमा देखापर्ने विवादलाई गाउँमै हल गर्न मेलमिलापकर्ताका रूपमा छानिएका स्थानीयलाई सहभागी गराएर आयोजना गरिएको मेलमिलापसम्बन्धी ४८ घन्टाको ८ दिने आधारभूत तालिम समापनकै दिन मेलमिलाप केन्द्र उद्घाटन गरिएको हो ।


तालिममा सहभागीलाई द्वन्द्व÷विवादको अवधारणा र विकास, विवाद समाधानको परम्परागत तरिका, मेलमिलापको महत्त्व, मेलमिलापकर्ताको भूमिका, दायित्व, मेलमिलाप प्रक्रियालगायत विषयमा जानकारी दिइएको न्यायिक समितिका संयोजक उपाध्यक्ष खड्काले बताइन् ।

 

मेलमिलापसम्बन्धी आधारभूत तालिममा वडाध्यक्ष, न्यायिक समितिका सदस्य तथा अन्य गरी २४ जना मेलमिलापकर्ताको सहभागिता रहेको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।

 

तालिममा मेलमिलाप गराउने क्रममा ७ चरणका विधि अपनाउनुपर्ने, पक्ष–विपक्षबीचको विवाद चर्कंदै गए एकान्तमा लगेर उनीहरूको भित्री चाहना र आशयबारे बुझेर न्यायोचित निर्णय लिने, विवाद नमिले विकल्प प्रयोग गर्नेलगायतबारे जानकारी मिलेको कार्यपालिका सदस्य एवं न्यायिक समिति सदस्य मेलमिलापकर्ता सुमिना राईले बताइन् ।

 

मेलमिलापकर्तालाई स्थानीय सरकार सञ्चालन ऐन, न्यायिक समितिको कार्यविधि, विवाद दर्तादेखि हलसम्मका चरणबारे जानकारी दिने पुस्तक तथा कागजात प्रदान गरिएको छ । 


पारिवारिक विवाद, लेनदेन, जग्गा–जमिनजस्ता देवानी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिटलगायत फौजदारी मुद्दा, व्यापार वा व्यावसायिक प्रकृतिका जुनसुकै विवाद मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने न्यायिक समितिले जनाएको छ । नेपाल सरकार वादी हुने अर्थात् गम्भीर प्रकृतिका फौजदारी मुद्दाबाहेकका सानातिना मुद्दा मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने व्यवस्था छ ।