close

किसानका दुःख: सुन्तला गाउँमै सिँचाइ अभाव 

किसानका दुःख: सुन्तला गाउँमै सिँचाइ अभाव 

Trulli
ADVERTISEMENT

म्याग्दी– सुन्तला गाउँमा परिणत भएको म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ भेडाबारी र भोर्लेनीमा सिँचाइको समस्या छ । सिँचाइ र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतीमा चुनौती बनेको छ । 

 

सुन्तला खेतीमा नमुना बनाई कृषि पर्यटन प्रवद्र्धन गर्ने अभियानमा जुटेका यहाँका कृषक सिँचाइ र भरपर्दो सडक यातायात सुविधा नहुँदा समस्यामा परेका हुन् । सुन्तला निकासी र आउजाउका लागि पोक हुँदै भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुन सकेको छैन ।

 

नजिकै मुहान भए पनि सुन्तला बगैँचामा सिँचाइ गर्न पाइपको धारामा निर्भर हुनुपरेको स्थानीय कृषक ओम गिरीले बताए । ‘पानीको मुहान भए पनि नहर र पाइप नहुँदा बगैँचामा ल्याउन समस्या भएको छ’, उनले भने, ‘खान ल्याएको पाइपको पानीले सिँचाइ गर्दै आएका छाैँ ।’  गत असोजदेखि आकाशबाट पानी परेको छैन । लामो सुक्खा र खडेरीसँगै सुन्तला खेतीमा सिँचाइ पुर्‍याउन समस्या भएको छ । 

 

७ वर्षअघि पोकदेखि भेडाबारीसम्म करिब ४ किलोमिटर सडक स्थानीयको लगानीमा निर्माण भएको थियो । भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ । 


यहाँका २० घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका छन् । परम्परागत कोदो र मकै बालीको विकल्पमा सुन्तला खेती गरेका छन् । नयाँ बिरुवा थपिने क्रमसँगै बर्सेनि उत्पादन पनि बढेको छ । स्थानीयले आफ्ना घरमा न्यूनतम १ सय देखि ५ सय बोटसम्म सुन्तला खेती गरेका छन् । 


५ मुरी कोदो फल्ने बारीमा सुन्तला खेती गरेर ३ लाख रुपैयाँसम्म आम्दानी हुने भेडाबारीका अर्का कृषक बेम गिरीले बताए । ‘अन्नबालीको भन्दा सुन्तलाबाट धेरै गुणा फाइदा छ,’ उनले भने, ‘मकै, कोदो लगाउन छाडेर सुन्तला खेती गरिरहेका छाँै ।’ यहाँबाट वार्षिक २० लाख रुपैयाँ बढीको सुन्तला निकासी हुने गरेको छ ।

 

उपयुक्त हावापानी र अनुकुल भूगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो । यहाँको सुन्तला प्रतिकिलो ५० रुपैयाँका दरले पोखरा निकासी हुने गरेको छ । 

 

बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूहमार्फत भोर्लेनी र भेडाबारीमा सिँचाइ आयोजना निर्माणको तयारी भएको गाउँपालिकाले जनाएको छ । 

 

‘भेडाबारीमा सिँचाइ आयोजना निर्माण गर्न कृषक समूह गठन गरी निवेदन मागेका छौँ’, गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले भनिन्, ‘यहाँका कृषकको आवश्यकता र समस्याको पहिचान गरी सहयोग गर्छौं ।’

 

स्थानीयले बगैँचाभित्र तरकारी, अदुवा र बेसार खेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् । बाबियाचौर र अर्मन जोड्ने निर्माणाधीन पुल सम्पन्न भएपछि कृषकलाई सहज हुने अपेक्षा गरिएको छ ।

 

सिँचाइ र सडक यातायातको व्यवस्था मिलाउनुका साथै भोर्लेनी–भेडाबारी हुँदै झाँक्रीपानी जोड्ने पदमार्ग सञ्चालन गरे यो ठाउँ कृषि पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको स्थानीय गणेश गिरी बताउँछन् ।