close

लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी सेवा तत्काल विस्तार गर्न मुख्यमन्त्रीको निर्देशन 

लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी सेवा तत्काल विस्तार गर्न मुख्यमन्त्रीको निर्देशन 

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई तत्काल विस्तार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

 

फार्मेसी सुविधायुक्त हुन नसक्दा अस्पताल आउने बिरामीले निजी औषधी पसलबाट महँगोमा औषधी किन्नुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल फार्मेसी सेवालाई विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

 

मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधारले मात्रै अस्पताल आउने बिरामीको समस्या समाधान नहुने बताउँदै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । ‘पछिल्लो समय अस्पतालको सेवा विस्तारै सुध्रिँदै गएको गएको छ तर उपचार राम्रो भएर पनि बिरामी औषधी किन्न निजी क्लिनिकमा भौतारिनुपर्ने बाध्यता हटेकाले यसलाई छिटोभन्दा छिटो समाधान गर्नेतर्फ लाग्नस्’, मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।

 

उनले प्रदेश सरकारले जनताको मनोविज्ञानमा परिवर्तन ल्याउने चिकित्सक र नर्सको क्षमता बढाउन नियमित तालिम दिँदै आएकालदे सेवालाई स्तरीय बनाउन अस्पताल प्रशासनसँग आग्रह गरे ।


नागरिकको स्वास्थ्योपचार पाउने अधिकार भएकाले समयमै उपचार पाउने हकको सुनिश्चितता गर्न अस्पताल र स्वास्थ्यकर्मीको जिम्मेवारी भएको उनेका भनाइ छ । मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइरहेको उल्लेख गरे । बिमा गरिएका बिरामीहरू उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य अब प्रादेशिक अस्पतालले गर्नुपर्ने उनले बताए ।

 

प्रदेशको गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको लुम्बिनी प्रादेशिक अस्पतालको डिपिआरको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । कार्यक्रममा अस्पतालका विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा हाल ५ बेडको आईसियू र ५ बेडको क्याबिन रहेकामा आगामी वैशाखदेखि बढाएर ५०/५० बेड पुर्‍याइने योजना रहेको बताए ।

 

हाल ५ वटा डायलाइसिस मेसिनमार्फत मिर्गाैलाका बिरामीको उपचार भइरहेकामा १२ वटा मेसिन थपेर सेवा सुरु गर्न लागिएको उनले जानकारी दिए । ‘कोभिड–१९ को समय अस्पतालका सफाइकर्मीको १० प्रतिशत र इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीको २५ प्रतिशत तलब थप गरेका छौँ’, उनले भने ।

 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अस्पतालमा कार्यरत एक तिहाइ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कोरोनाबाट संक्रमित भए पनि सेवा सुचारु गरिएको बताए ।

 

खनालले गत वर्ष इमर्जेन्सीमार्फत ५४ हजार ३ सय ५२, ओपिडीमार्फत १ लाख ४३ हजार ४ सय २६, भर्ना गरिएका १९ हजार ४ सय ९६ र सुत्केरी सेवा ११ हजार २ सय १८ जनालाई दिइएको उनले तथ्यांक प्रस्तुत गरे ।