close

जुम्ला पुग्यो बामदेवको नेकपा एकता अभियान 

जुम्ला पुग्यो बामदेवको नेकपा एकता अभियान 

Trulli
ADVERTISEMENT

जुम्ला– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा नचोइटिए पनि २ धारमा विभाजित देखिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल गरी २ धारे कित्तामा उभिएको हो । 

 

नेकपाको गाउँबस्ती, वडा, जिल्ला, प्रदेशदेखि केन्द्रस्तर र पार्टीका भ्रातृ संगठनसमेत २ धारमा विभाजित भएका बेलामा उपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान जुम्लामा पनि सुरु भएको हो । 

 

नेकपा एकता अभियानका लागि जिल्लामा २५ सदस्यीय पार्टी एकता समन्वय समिति गठन गरिएको छ । जिल्ला समितिको संयोजक हिमालय खत्री र इन्चार्जको रूपमा नन्दबहादुर खत्रीलाई जिम्मा दिइएको छ । 

 

त्यस्तै, सह–संयोजक सिंहबहादुर खत्री, सचिव महानन्द चौलागाइँ, सहसचिव खड्कबहादुर स्वाँर (केबी जुम्ली) र कोषाध्यक्षमा रामकृष्ण चौलागार्इंलाई चयन गरी नेकपा एकता अभियान जुम्लामा सुरु गरिएको संयोजक खत्रीले बताए । उनले भने, ‘पार्टी एकताको संगठन बनाउने अभियान गाउँपालिका र वडापालिकामा पुग्नेछ ।’ 

 

नेपालमा कम्युनिस्ट नेताबीच जुगाको लडाइँ रहेकाले जनतालाई मान्य नहुँदा एकता अभियान सञ्चालन गर्नु परेको संयोजक खत्रीको दाबी छ । उनले भने, ‘अहिले पार्टी नेताहरू विधि र विधानविपरीत हिँडिरहेका छन् । यसलाई व्यवस्थापन गर्न नेता गौतमको महत्त्वपूर्ण भूमिका रहनेछ ।’

 

नेकपा एकता अभियान सफल बनाउन केन्द्र तहमा ६ सय ७६ केन्द्रीय समिति र १ सय ७६ जनाको केन्द्रीय कार्य सम्पादन समिति बनाइएको जिल्ला इन्चार्ज नन्दबहादुर खत्रीले बताए । ‘यो अभियान सफल बनाउन लागिपरेका छौँ’, उनले भने, ‘हामी अहिले नेपालमा कम्युनिस्ट जोगाउने र देश संकटबाट मुक्त बनाउने राष्ट्रिय अभियानमा जुटेका छौँ ।’एकता अभियान समितिको केन्द्रीय बैठक चाँडै बस्दै र त्यसले पारित गरेका निर्णयका आधारमा थप पार्टी एकताको कामलाई तीव्रता दिइने उनको भनाइ छ ।