close

गाउँपालिका अध्यक्ष नै स्कुलका भान्से ! 

गाउँपालिका अध्यक्ष नै स्कुलका भान्से ! 

Trulli
ADVERTISEMENT

खोटाङ– आइतबार खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर २ डाँडागाउँस्थित महेन्द्रोदय मावि ओख्रेका छात्रछात्रा दंग थिए । कारण, उनीहरूलाई दिवा खाजा खान बस्न भनिएको थियो । त्यही बेला गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले थाल र बटुकामा खाजा पस्किएर र उनीहरूका अगाडि राख्दै थिए ।


स–साना बालबालिकाले गाउँपालिका अध्यक्षले पस्केर दिएको खाजा स्वादिलो मानेर खाए । गाउँपालिकाको दिवा खाजा कार्यक्रमको उद्घाटनका क्रममा पालिका अध्यक्ष राईले भान्से बनेर बाल विकासकेन्द्रदेखि कक्षा ५ सम्मका ९३ छात्रछात्रालाई खाजा बाँडेका हुन् । 


७ वटा वडा रहेको गाउँपालिकाभरिका ४८ विद्यालयका बाल विकासकेन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत ३ हजार ५४ विद्यार्थीलाई खाजा उपलब्ध गराउने गरी दिवा खाजा कार्यक्रम सुरु गरिएको हो ।


खाजाकै कारण विद्यालय छाड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै शिक्षा तथा प्रविधि मन्त्रालयबाट प्राप्त भएको ससर्त अनुदानबाट विद्यालयमा दिवा खाजा कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए ।


दिवा खाजाको व्यवस्थापनका लागि शिक्षा तथा प्रविधि मन्त्रालयले चालू आर्थिक वर्ष गाउँपालिकालाई ८४ लाख २४ हजार रुपैयाँ बजेट उपलब्ध गराएको छ । यो बजेटबाट वर्षमा १ सय ८० दिन खाजा खर्चबापत दैनिक जनही १५ रुपैयाँका दरले विद्यार्थीलाई रकम उपलब्ध गराउने गरी दिवा खाजा कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 


४ वर्षदेखि ९ वर्ष उमेर समुहका विद्यार्थीलाई विश्व खाद्य संगठनले निर्धारण गरेको मापदण्डका आधारमा दैनिक आवश्यक क्यालोरी, भिटामिन, प्रोटिन, आयोडिन, फ्याट, आइरनजस्ता पोषक तत्त्वको मात्रा उपलव्ध गराउने गरी खाजा व्यवस्थापन गरिएको छ । दिवा खाजामा बिस्कुट, चाउचाउजस्ता जंक फुड भने प्रयोग गर्न पाइने छैन । 


बृहत् पोषक तत्त्वतर्फ विद्यार्थीलाई दैनिक १ हजार ८ सय ५० क्यालोरी आवश्यक पर्नेमा दिवा खाजाबाट ५ सय ५५ क्यालोरी आपूर्ति गराउने, दैनिक ५७ प्रोटिन आवश्यक पर्नेमा दिवा खाजाबाट १७ प्रोटिन उपलब्ध गराउने र दैनिक ४८ फ्याट आवश्यक पर्नेमा दिवा खाजाबाट १४ फ्याट आपूर्ति गराउने गरी दिवा खाजा उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणि गिरीले बताए ।

 

विद्यार्थीले बिदाको दिन भने दिवा खाजा पाउने छैनन् । विद्यार्थीको नियमितताका लागि सरकारले दिवा खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष राईले बताए ।


‘खाजाकै कारण कतिपय विद्यार्थी टिफिनपछि कक्षा छाड्छन् । कतिपय स्कुल नै आउँदैनन्,’ अध्यक्ष राईले भने, ‘खाजाकै कारण विद्यार्थी स्कुल बाहिर नहोउन्, विद्यालयमा नियमित उपस्थिति होस् र शिक्षण सिकाइमा असर नपुगोस् भन्ने उद्देश्यले खाजा कार्यक्रम ल्याइएको हो ।’