close

मास्टर नै फेल ! ८ जना प्रावि शिक्षकका लागि परीक्षा दिएका सबै अनुत्तीर्ण 

मास्टर नै फेल ! ८ जना प्रावि शिक्षकका लागि परीक्षा दिएका सबै अनुत्तीर्ण 

Trulli
ADVERTISEMENT

जाजरकोट– सरकारी विद्यालयलाई यसै पनि कमजोर शिक्षा प्रणालीका कारण बेरोजगार उत्पादन गर्ने थलो बनिरहेको बात लागिरहेको छ । यसको उदाहरण जाजरकोट खलंगाको भेरी नगरपालिकामा रहेका ८ वटा प्राथमिक विद्यालयमा माग गरिएको १७ जना शिक्षकको परीक्षामा १ जना पनि पास हुन सकेनन् । 

 

नगरपालिकाको शिक्षक छनोट समितिले प्रावि तहको शिक्षक दरबन्दी पूर्ति गर्न सोमबार लिएको परीक्षामा कोही पनि पास नभएका हुन् । भेरी नगरपालिकाको समन्वयमा ८ वटा पदका लागि नगरपालिकाका ८ वटा प्राथमिक विद्यालको संयुक्त परीक्षा भेरी ज्ञानोदय क्याम्पसमा लिइएको थियो ।

 

४० जनाले दिएको दरखास्तमा उपस्थित १७ जना परीक्षार्थीमध्ये १ जना पनि पास नभएपछि नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पत्रकार सम्मेलन गरेर फेल भएकालाई शिक्षक बनाए फेल हुने विद्यार्थी उत्पादन हुने बताए । ‘शैक्षिक क्षेत्रमा यस्तो अवस्था देख्दा हामी निकै कमजोर ठहरिएका छौँ’, घर्तीले दुःख व्यक्त गरे । 

 

समाज रुपान्तरणको मूल आधार शिक्षा रहेकाले नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न निष्पक्ष परीक्षा सञ्चालन गरेपछि १ जना पनि पास हुन नसकेको उनले बताए ।

 

परीक्षा सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च लागेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । नगरको शैक्षिक गुणस्तर बढाउन जति नै खर्च लागे पनि आगामी परीक्षा यसरी नै सञ्चालन गरिने उनले प्रतिबद्धता जनाए ।

 

सबै फेल भएपछि प्रावि तहको परीक्षाको पुनः १५ दिने म्याद थपेर सूचना प्रकाशन गर्न विद्यालयलाई आग्रह गरिएको नगर शिक्षा शाखा प्रमुख अमृत पुनले बताए ।

 

नगरपालिकाको अनुदानमा नगरभित्रका विद्यलयमा राहत शिक्षक राख्न लागिएको हो । यस्तै, निमावि तहमा १२ पदका लागि ११ विद्यालयको संयुक्त परीक्षा आउँदो फागुन १९ बुधबार हुनेछ । मावि तहको पनि यसैगरी परीक्षा हुने शाखा प्रमुख पुनले बताए ।

 

उक्त परीक्षा नगरपालिका, शिक्षाविज्ञ, विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकको निगरानीमा गरिएको थियो ।