close

गाडी पुगेपछि रघुगंगाका ३ वटा वडामा खुसीयाली 

गाडी पुगेपछि रघुगंगाका ३ वटा वडामा खुसीयाली 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिकाको ३ वटा वडा सडक यातायातको सञ्जालमा जोडिएपछि स्थानीयले बाजागाजासहितको खुसीयाली मनाएका छन् । 

 

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि क्रमशः वडा नम्बर ४, ७ र ८ का बस्तीलाई जोड्ने ३६ किलोमिटर सडक निर्माण पूरा भएपछि स्थानीयले बाजागाजा र नाचगान गरेर खुसीयाली मनाएका हुन् । दर्मिजामा सोमबार कार्यक्रम आयोजना गरेर ज्येष्ठ नागरिकबाट सडक उद्घाटन तथा खर्च सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । 

 

दग्नाम, दर्मिजा, चिमखोला र कुइनेमंगले जोड्ने सडक निर्माण भएपछि पूरै दिनको बाटो ३ घन्टामा छोटिएको हो । ३ वटा वडाका १ हजार २ सय बढी घरधुरी लाभान्वित भएका छन् । 

 

पालिकाको केन्द्र मौवाफाँट र जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न भीर, जंगल, खोल्साको बाटोमा पूरै दिन पैदल हिँड्नुपर्ने समस्या हटेको रघुगंगा वडा नम्बर ८ पात्लेका अंकित पुनले बताए । 

 

‘बिरामी पर्दा डोकोमा बोकेर अथवा हेलिकोप्टर चढेर अस्पताल पु¥याउनुपर्ने, समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘कृषि, पशुजन्य वस्तुले बजार नपाउने, भरिया र खच्चरबाट महँगो शुल्क तिरेर खाद्यान्न, निर्माण सामग्री ढुवानी गर्नुपर्ने समस्या हटेको छ ।’

 

गलेश्वरदेखि पिप्ले, भगवति, बेगखोला, चिमखोला हुँदै कुइनेमंगले जोड्ने यसअघि निर्माण भएको करिब ५० किलोमिटर दूरीको सडक घुमाउरो र जोखिमयुक्त हुँदा प्रयोग हुन नसकेपछि सुरु गरिएको छोटो दूरीको अर्को सडक निर्माणले १० वर्षमा पूर्णता पाएको हो । 

 

स्थानीय तह स्थापनाअघि तत्कालीन जिविसले मौवाफाँटबाट सुरु गरेको यो सडक आयोजनालाई पूर्णता दिन संघीयता कार्यान्वयनसँगै पालिका, संघ तथा प्रदेश सरकारले आयोजना सञ्चालन गरेका थिए । 

 

रघुगंगाले स्थापना कालदेखि ३ करोड ६२ लाख रुपैयाँ खर्चेको प्रशासकीय अधिकृत सुवेदीले बताए । यो सडकमा तुदी पावर र संयुक्त ऊर्जा कम्पनीले ११ करोड रुपैयाँ लगानी गरेका छन् ।

 

दग्नाम र दर्मिजाको सिमानामा रहेको म्याग्दीकै कठिन र जोखिमयुक्त अजिंगर भीरमा सडक निर्माण गर्न एक्साभेटर, मजदुरका साथै जलविद्युत् आयोजनाको सहयोग तथा नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । 

 

‘मानिस पैदल यात्रा गर्नसमेत कठिन भीरमा सडक बन्ला र गाडी गुड्ला भनेर कल्पनासमेत नगरेका दुर्गम क्षेत्रका बासिन्दा यातायात सुविधा पाएपछि दंग परेका छन्,’ उनले भने, ‘राहुघाट र आसपासका खोलामा निर्माणाधीन जलविद्युत् आयोजनामार्फत ३ ठाउँमा मोटर चल्ने पुल निर्माणका साथै सडक स्तरोन्नति गर्छौं ।’

 

अन्य ठाउँमा एक्साभेटर र मजदुरबाट सडक निर्माण गरिए पनि दवाङ र अजिंगर भीरमा मार्ग खोल्न विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । अक्करे भीरको चट्टान फुटाएर सडक बनाउन समय पनि धेरै खर्चनुपरेको सडक निर्माणको अगुवाइ गरेका दर्मिजाका सुविन शेरपुञ्जाले बताए ।