close

बुटवलका सामुदायिक मावि देशभरका पालिकाहरूमै उत्कृष्ट 

बुटवलका सामुदायिक मावि देशभरका पालिकाहरूमै उत्कृष्ट 

Trulli
ADVERTISEMENT

रूपन्देही– सामुदायिक माध्यमिक विद्यालयको कार्य सम्पादनमा बुटवल उपमहानगरपालिका मुलुकमै उत्कृष्ट भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरिबाट नमुना विद्यालयका रूपमा छनोट गरेका सामुदायिक विद्यालयको कार्य सम्पादनको परीक्षणमा बुटवलका माविलाई उत्कृष्ट घोषणा गरिएको हो । 


मुलुकभरका सबै पालिकाहरूबाट नमुना विद्यालयका रूपमा छनोट गरिएका करिब १ हजार सामुदायिक माध्यमिक विद्यालयको कार्यसम्पादन मूल्यांकनका आधारमा बुटवल देशभरकै पालिकाहरूमा प्रथम भएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै प्रकाशित गरेको परीक्षणको समष्टिगत प्रतिवेदनमा बुटवल उपमहानगरका सामुदायिक माविको कार्यसम्पादन उत्कृष्ट पाइएको हो ।


विद्यालयको भौतिक संरचना, शिक्षकको योग्यता तथा उपलब्धता र समुदायबाट विद्यालयलाई प्राप्त भौतिक सहयोगलाई लगानी मानेर मूल्यांकन गरिएको थियो । परीक्षणका लागि रूपन्देहीका सबै १६ वटै पालिका परेका थिए । बुटवलका २० वटा सामुदायिक विद्यालयको मूल्यांकन गरिएको थियो । रूपन्देहीसहित देशैभरका पालिकाहरूबाट बुटवल उत्कृष्ट भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ । 


शिक्षाको विकासका लागि बुटवलमा भएको योजनाबद्ध तथा दिगो विकास लक्ष्यअनुरूपका कामको नतिजा मानिएको र आगामी वर्षमा थप सुधारका लागि हौसला बढाएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।


प्रमुख सुवेदीले उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै अझ उत्कृष्ट बन्नेतर्फ केन्द्रित रहन आग्रह गरे । समग्र उपमहानगरलाई एउटा विद्यालय अर्थात् सिकाइ स्थलका रूपमा विकास गर्दै मुलुकभरमै पहिलो पटक शैक्षिक संगोष्ठी, स्थानीय पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक छपाइ तथा पठनपाठन गराउनेदेखि अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट बनाउने गरी योजना तय भएको प्रमुख सुवेदीको भनाइ छ ।


अहिलेको नतिजाले विद्यालयहरूको समग्र कार्यसम्पादन स्तरबारे अनुगमन गर्न सहज भई शैक्षिक क्षेत्रको सुधार र अरू प्रगतिका लागि दूरदृष्टि तय गरी आगामी योजना निर्माण गर्न मात्र नभई कार्यान्वयनका गर्दा ध्यान दिनुपर्ने पक्षबारेसमेत मार्ग निर्देश भएको प्रमुख सुवेदीले बताए ।


शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानलाई मूर्त रूप दिन यसलाई कार्य रूपमा उतार्ने निकायहरूको कार्यसम्पादन परीक्षण गर्ने काम चुनौतीपूर्ण र जटिल रहे पनि शैक्षिक विकासका लागि महत्त्वपूर्ण रहेको उपमहानगरका उपप्रमुख तथा नगरस्तरीय अनुगमन समिति संयोजक गुमादेवी आचार्यले जानकारी दिइन् । 


शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्यसम्पादन परीक्षण गरिएका मुलुकभरका १३ जिल्लाका ९ सय ९६ विद्यालयमध्ये ८३ दशमलव २ प्रतिशत विद्यालयको कार्यसम्पादनको अवस्था सामान्य देखिएको छ । उत्तम कार्यसम्पादन भएका विद्यालय ९ सय ९६ मध्ये जम्मा २ वटा देखिएको छ । तीमध्ये एउटा बुटवलको र अर्को दार्चुलाको विद्यालय रहेका छन् । कार्यसम्पादन परीक्षणमा मध्यम खालका विद्यालयको प्रतिशत सबैभन्दा धेरै रूपन्देही अर्थात् बुटवल उपमहानगरमा पाइएको छ, जुन २०.३ प्रतिशत छ । 


सबैभन्दा कम अर्थात् ७ प्रतिशत रोल्पामा रहेको छ । औसत अंकमा बुटवलमा विद्यालयको सबैभन्दा बढी ९० अंक छ भने कममा ६० प्रतिशत छ । रूपन्देहीकै अरू पालिकाहरूमा बढी अंक ८१ मात्रै छ भने कममा ४० छ । 


परीक्षणमा बुटवलका २० वटा सामुदायिक विद्यालय, तिलोत्तमा नगरपालिकाका २०, सैनामैना नगरपालिकाका १३, देवदह नगरपालिकाका १३, सिद्धार्थनगर नगरपालिकाका ९, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ७, कञ्चन गाउँपालिकाका ९, गैंडहवा गाउँपालिकाका ९, मायादेवी गाउँपालिकाका ८, रोहिणी गाउँपालिकाका ७ वटा सामुदायिक विद्यालयको मूल्यांकन परीक्षण गरिएको थियो । 


यस्तै, सियारी गाउँपालिकाका ७, शुद्धोधनका ६, सम्मरीमाईका ३, ओमसतियाका ३, कोटहीमाईका ५ वटा र मर्चवारी गाउँपालिकाका ४ वटा सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको थियो । बुटवल उपमहानगरअन्तर्गत ३९ सामुदायिक विद्यालय छन् । यीमध्ये रात्रि मावि, महिला विद्यालय, खुला विद्यालय, विशेष विद्यालय (सुस्तमनस्थिति), गुरुकुल विद्याश्रम र ३ वटा मदरसा विद्यालय सञ्चालनमा छन् ।


कक्षा १ देखि १२ सम्म बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब २३ हजार रहेको छ । अहिलेको नतिजाले अझ उत्कृष्ट बनाउन हौसला बढाएको उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनशख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले जानकारी दिए ।


यसरी गरियो मूल्यांकन

शिक्षा ऐनमा रहेको व्यवस्थाअनुसार स्वतन्त्र प्रकृतिको निकायको रूपमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण र शैक्षिक संस्थाहरूको कार्यसम्पादन परीक्षणको काम गर्दै आएको छ ।


तोकिएका शैक्षिक संस्थाहरूले निर्दिष्ट नीति तथा कार्यक्रम, प्रचलित ऐन तथा नियमबमोजिम कार्यान्वयन गरे÷नगरेको सम्बन्धमा लेखाजोखा गर्ने, शिक्षाको पहुँच, समता र गुणस्तर अभिवृद्धिका लागि शैक्षिक संस्थाहरूको कार्य प्रणालीको परीक्षण गरी कार्यसम्पादन स्तर प्रस्तुत गर्ने, कार्यसम्पादन सुधारको क्षेत्रहरू पहिचान गर्ने, विद्यालय तथा निकायहरूको कार्यसम्पादन सुधारका निम्ति नीतिगत पृष्ठपोषणका लागि प्रमाणमा आधारित सूचना तथा तथ्य उपलब्ध गराउने व्यवस्थालाई आधार मानिएको थियो ।


यस्ता छन् विषय क्षेत्र र सूचकहरू


शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शैक्षिक निकायहरूको कार्यसम्पादन परीक्षण ढाँचा तयार पारेर परीक्षण गर्दै आएको छ । विद्यालयमा गरिएको लगानी, प्रक्रिया, उपलब्धि, विद्यार्थी संख्या र नतिजालाई विषय क्षेत्र निर्धारण गरिएको छ ।


लगानीअन्तर्गत विद्यालयको भौतिक पूर्वाधार, शिक्षक र समुदायको सहभागितासम्बन्धी सूचक छन् । प्रक्रियामा कक्षा शिक्षण, विद्यार्थी मूल्यांकन, शिक्षकको पेसागत विकास, नेतृत्व, व्यवस्थापन तथा अतिरिक्त क्रियाकलापसम्बन्धी सूचक छन् । उपलब्धि सम्बद्ध सूचकहरूमा विद्यार्थीको विद्यालयमा नियमितता, विद्यालय छाड्ने र कक्षा दोहो¥याउने दर, विद्यार्थीको औसत सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि र शिक्षकको पेसागत सन्तुष्टि सम्बद्ध सूचकका आधारमा मूल्यांकन गरिएको थियो । 

 

यी समग्र पक्षमा मुलुकभरका पालिकाहरूमा बुटवल उत्कृष्ट भएको हो । परीक्षणपूर्वको चरण, परीक्षणको चरण र परीक्षणपछि चरणको विद्यालयको अवस्था हेरेर मूल्यांकन गरिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले जनाएको छ । 


निजी विद्यालयको परीक्षण गर्ने नीति बनाउन सुझाव


शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार पारेको ‘सामुदायिक माध्यमिक विद्यालयहरूको कार्यसम्पादन परीक्षण २०७५÷७६ को समष्टिगत प्रतिवेदन, २०७७’ मा विद्यालयमा समुदायको सहभागिता, चासो र लगानी बढाउनुपर्ने र निजी विद्यालयहरूको समेत कार्यसम्पादन परीक्षण नियमित गर्ने/गराउने नीतिगत व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिएको छ । प्राध्यापक, निवृत्त अधिकारी र पूर्वशिक्षकसमेत सहभागी विज्ञ टोलीले सामुदायिक विद्यालयको मूल्यांकन गरेर प्रतिवेदन तयार पारेको हो ।