close

फुङ्लिङले मेयर र सिरिजंघाले अध्यक्ष कप प्रतियोगिता गर्दै

फुङ्लिङले मेयर र सिरिजंघाले अध्यक्ष कप प्रतियोगिता गर्दै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजंघा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङ नगरपालिकाले अन्तरपालिका स्तरीय र सिरिजंघा गाउँपालिकाले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।


फुङ्लिङ नगरपालिकाले तेस्रो संस्करणको मेयर कप र सिरिजंघाले प्रथम अध्यक्ष कप सञ्चालन गर्न लागेका हुन् । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं फुङ्लिङको वडा नम्बर ८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वाका अनुसार १३ देखि १५ चैतसम्म फुङ्लिङमा मेयर कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।


फागुपूर्णिमा अवसर पारेर सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद २ लाख २१ हजार १ सय रुपैयाँका साथ रनिङ कप पाउनेछ । उपविजेता टिमले नगद १ लाख ११ हजार १ सय रुपैयाँका साथ कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट २ टिमलाई जनही नगद ३३ हजार रुपैयाँसहित कप प्रदान गरिने नगरपालिकाले जनाएको छ । 


यस्तै, २४ देखि २६ फागुनसम्म सञ्चालन हुने प्रथम अध्यक्ष कप भलिबल प्रतियोगितामा सिरिजंघाका ८ वटै वडाका खेलाडीले वडागत रूपमा सहभागी बन्न पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँका साथ रनिङ कप, दोस्रो हुनेलाई नगद ३० हजार, तेस्रो हुने टिमलाई नगद २० हजार र सान्त्वना पुरस्कारबापत नगद १० हजार रुपैयाँ दिइनेछ ।


त्यसैगरी समग्र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ, उदयीमान खेलाडीलाई नगद ३ हजार रुपैयाँ, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँले पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।


प्रत्येक वडाबाट छनोट भएर आएका १जना टिम म्यानेजर र ११ जना खेलाडीलाई ३ दिनको खाना, खाजा, बास र जर्सीसहितको सम्पूर्ण व्यवस्था गाउँपालिकाबाटै मिलाइएको उनले बताए ।वडास्तरमा गरिने खेलाडी छनोटमा आवश्यक व्यवस्थापन गर्न प्रतिवडामा २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको समेत उनले जानकारी दिए ।