close

बारीकान्लामै थन्किन्छन् मुगालीका स्याउ र बिरुवा 

बारीकान्लामै थन्किन्छन् मुगालीका स्याउ र बिरुवा 

Trulli
ADVERTISEMENT

मुगु– मुगुमा पछिल्लो समय स्याउका बिरुवा उत्पादन गर्ने कृषकको संख्यामा बढोत्तरी भएको छ । मुगुमा स्याउका बिरुवा उत्पादन बढी भएको र माग कम भएपछि स्याउका बिरुवा बिक्री नहुँदा कृषकले बारीकान्लामै थन्क्याउनुपरेको हो । 

 

मुगुको स्याउ पकेट क्षेत्र ताल्चा, बाम, रोवा, कालापाल्त, बामका कृषकले यो वर्ष उत्पादन गरेको रेड डेलिसियस, इटालियन फुजी, रोयल डेलिसियस, रोयल गोल्डेन, जोनाथन काले, पोलिनाइजर भाले जातका स्याउका बिरुवा बिक्री नहँुदा लाखौँ मूल्यका बिरुवा खेर जाने अवस्था छ ।

 

वर्षभरि गरेको लगानी र मिहिनेत खेरा जाने अवस्था आएपछि किसानले कृषिमा सहुलियत र अनुदानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।

 

‘गत वर्ष बिरुवा कम थिए । माग बढी आयो । यो वर्ष स्याउका बिरुवा वितरण गर्ने कार्यक्रम कम भएको हुँदा बिरुवा बढी छन् । माग काम भएसँगै साढे २ लाखमध्ये १ लाख ७० हजार रुपैयाँ मूल्यका बिरुवा मात्र बिक्री भएका छन्’, छायानाथ रारा नगरपालिकाको वडा नम्बर ५ मा रहेको रितु नर्सरी फार्मका सञ्चालक मणिचन्द्र भामले भने ।

 

तीन वटै तहका कृषिसम्बन्धी काम गर्ने योजना कृषकमुखी नभएका र पार्टीका कार्यकर्तामुखी योजना कार्यान्वयन गरिँदा गरिखाने कृषकलाई समस्या परेको भामको गुनासो छ ।

 

यस वर्ष जिल्ला कृषि विकास कार्यालय मुगुले स्याउका बिरुवा उत्पादन गर्ने कृषकको सूचीकृतका लागि माग गर्दा स्याउ बिरुवा उत्पादन गर्ने ७ वटा नर्सरीबाट मात्र उत्पादन गरिएका ७२ हजार १ सय ६० बिरुवा उत्पादन भएका छन् । 

 

मुगुमा रहेका कृषिसम्बन्धी काम गर्ने सरकारी, गैरसरकारी निकायका वार्षिक कार्यक्रमअनुसार आरसिडिसी मुगुको २६ हजार स्याउका बिरुवा र कृषि विकास कार्यालयले ६ हजार ५ सय गरी ३२ हजार ५ सय बिरुवा मात्र खपत हुनेछन् । बाँकी ३९ हजार ६ सय ६० बिरुवा खेर जाने अवस्था रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ । 

 

मूल्य नपाएको स्याउ 

 

मुगुमा स्याउका बिरुवा उत्पादन बढी भए पनि यहाँका कृषकले सरकारले तोकेअनुसारको मूल्य पाएका छैनन् । सरकारी मूल्यअनुसार प्रत्येक बिरुवाको रकम ७० रुपैयाँ रहे पनि कृषि विकास कार्यालयको तथ्यांकमा ६० रुपैयाँ मात्र निर्धारण गरिएको छ । 

 

पछिल्लो समय सरकारी कार्यालयले एकातर्फ मूल्य निर्धारण गरिदिएको छ भने अर्कोतर्फ कृषकले उत्पादन गरेका स्याउका बिरुवाले मूल्य नपाउने अवस्था देखिएको सागर हिउँदे फलफूल नर्सरी फार्मका सञ्चालक बाँचे कामीले बताए । 

 

उनका अनुसार मुगुका नागरिकको मुख्य पेसा कृषि हो तर सरकारी कार्यालयले आफ्नै तवरबाट स्याउका बिरुवाको दररेट निर्धारण गर्दा नबिकेर कृषकका बिरुवा नर्सरीमै थन्किएका छन् । कृषि कार्यालयले आफैं दररेट तोकेपछि स्याउ कृषकका लाखाँै मूल्य बराबरका स्याउका बिरुवा खेर गएका छन् । 

 

कृषि विकास कार्यालय मुगुका बागवानी शाखा प्रमुख दुर्गाबहादुर शाहीका अनुसार विगतका वर्षमा स्याउका बिरुवा उत्पादन गर्ने कृषक न्यून थिए ।

 

‘स्याउका बिरुवाको माग पनि बढी हुने र खपत पनि बढी हुने गरेको थियो’, उनले भने, ‘यस वर्ष स्थानीय सरकार र अन्य संघ– संस्थाको स्याउका बिरुवा बिक्री वितरण कार्यक्रम कम भएको हँुदा उत्पादन बढी भएपछि प्रतिस्पर्धा हुँदा कृषकले सरकारी दररेटअनुसारको मूल्य नपाएका हुन् ।’