close

दोभान बजारमा आगलागीः १ अर्बको क्षति, सहयोग जुट्दै 

दोभान बजारमा आगलागीः १ अर्बको क्षति, सहयोग जुट्दै 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई मेरिङ्देन गाउँपालिकाले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आपतकालीन राहत उपलब्ध गराएको छ ।

 

गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले ३३ घरधनी र २३ डेरावाल परिवारसहित गरी करिब ६० परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिए ।  पीडित परिवारको अन्तिम लगत संकलन भइरहेकाले छुट भएकालाई पनि क्रमैसँग राहत उपलब्ध गराइने गाउँपालिकाले बताएको छ । 

 

आगलागीबाट ५० घर जलेर नष्ट भएको विवरण संकलन भएको मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । आङदेम्बेकै संयोजकत्वमा गठन भएको क्षति तथ्यांक संकलन टोलीले बुधबार बिहानबाट क्षतिको वास्तविक तथ्यांक संकलनको काम सुरु गरेको छ । 

 

मंगलबार साँझसम्म नै पीडितको व्यवस्थापन र आपतकालीन राहत वितरणमा जुट्नुपर्ने भएकाले बुधबार बिहानबाट मात्र तथ्यांक संकलन सुरु भएको जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यसमेत रहेका ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

 

आगलागीबाट करिब १ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उनका अनुसार मंगलबार नै जिल्ला रेडक्रस सोसाइटीले भाँडा वर्तनसहितका सामग्री र ताप्लेजुङ उद्योग वाणिज्य संघले खाद्यान्न सामग्रीका प्याकेट वितरण गरे । 

 

सांसद भट्टराई र आङ्बुहाङको सहयोग रकम

 

दोभान बजारका आगलागीपीडितका लागि प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई र प्रदेशसभा १ का सांसद टंक आङ्बुहाङले सहयोग रकम घोषणा गरेका छन् ।

 

भट्टराईले ५ लाख र आङबुहाङले ३ लाख रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । अग्निपीडितको सहयोगका लागि काठमाडौं बस्ने ताप्लेजुङका बासिन्दा र अन्य सहयोगी दाताबाट सहयोग संकलन गर्न भट्टराईकै संयोजकत्वमा सहयोग संकलन समिति बनेको छ ।

 

समितिमा ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाजका पदाधिकारी सदस्य रहेका छन् । सरोकार केन्द्र र सरोकार समाज पेसा, व्यवसायको सिलसिलामा ताप्लेजुङबाट काठमाडौं आई बसोबास गर्नेहरूको संस्था हो ।

 

भट्टराई नेतृत्वको सहयोग संकलन समितिले देश–विदेशमा रहेका ताप्लेजुङबासीलाई सहयोगका लागि आह्वानसमेत गरेको छ । समितिले राहत तथा पुनस्र्थापनाका लागि अग्निपीडितलाई भूकम्पपीडितसरह राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

 

मुख्यमन्त्री राई दोभान बजार आउँदै 

 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगलागी स्थलको निरीक्षण गर्न राहत लिएर ताप्लेजुङको दोभान बजार आउने भएका छन् । दिउँसो १ बजे हेलिकोप्टरमार्फत मुख्यमन्त्री राई दोभान आउने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । 

 

प्रदेश १ सरकारले प्रतिपीडित परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम दिने निर्णयसमेत गरेको छ । यसबाहेक संघीय सरकारले पीडित परिवारलाई आपतकालीन राहत वितरण र दीर्घकालिन पुनस्र्थापनाका लागि योजना बनाउने प्रक्रिया सुरु गरेको जनाएको छ ।

 

मंगलबारै प्रधानमन्त्री केपी ओलीले दोभान बजारमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र दोभान बजार पुनर्निर्माणमा सरकारले सघाउने बताएका थिए ।

 

मंगलवार मोरङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनर्निर्माणमा जुट्न प्रदेश १ का मुख्यमन्त्री राईलाई आग्रह गरेका थिए । 

 

यस्तै, पूर्वपर्यटमन्त्री तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापालाई भेटेर दोभान बजार आगलागीमा परेर आवासविहीन भएकालाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनस्र्थापनाका लागि भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन सरकारसमक्ष माग गरे ।