close

६ महिनापछि खुले बुटवल नगरका हाटबजार 

६ महिनापछि खुले बुटवल नगरका हाटबजार 

Trulli
ADVERTISEMENT

रुपन्देही- बुटवल उपमहानगरले बजार सञ्चालनको अनुमति दिएपछि ६ महिनापछि बुटवलका हाटबजार खुलेका छन् । कोरोना महामारीका कारण चैत ११ देखि गरिएको लकडाउनअघिबाटै हाटबजार बन्द थिए ।

साउनमा अनुमतिबिनै केही समय हाजबजार खुले पनि निषेधाज्ञालगत्तै बन्द भएका थिए । उपमहानगरको वित्त व्यवस्थापन महाशाखाका अधिकृत दामोदर ज्ञवालीका अनुसार बजार सञ्चालन भए पनि हाललाई बैठककी कर नउठाइएकाले त्यस्तो कर  १५ देखि उठाइनेछ ।

हाटबजार सञ्चालन अनुमति दिए पनि व्यापारीलाई सामाजिक दूरी कायम गरेर बजार खोल्न भनिएको उनको भनाइ छ ।

हाटबजार सञ्चालन गर्न उपमहानगरले ७ वटा सर्त तोकेको छ । प्रत्येक व्यवसायीले मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, भौतिक तथा सामाजिक दूरी पालना गर्नुपर्ने र ग्राहकलाई पनि गराउनुपर्ने, हाटबजारको ६० प्रतिशत कृषिजन्य सामग्री र ४० प्रतिशतमा गैरकृषिजन्य सामग्री राख्नुपर्ने, तोकिएको ठाउँबाहिर सडकपेटीमा बिक्री गर्न नपाइनेलगायतका सर्त छन् ।

त्यस्तै, हाटबजारमा फुल्की, मःम, चाउमिन, जेरी, समोसामटरलगायत नास्ताजन्य पदार्थ पनि बिक्री वितरणमा रोक लगाइएको छ । बजार जाँदा स्वास्थ्य सतर्कता अपनाउन पनि उपभोक्तालाई उपमहानगरले आग्रह गरेको छ ।

मास्क अनिवार्य लगाउन, बजारभित्र कम समय मात्र व्यतीत गर्न, भीडभाड नहुने गरी सामान खरिद गर्न तथा साबुनपानीले नियमित हात धुन भनिएको छ ।

बुटवलका ३ वटा हाटबजार साताको सातैबार सञ्चालन गर्न अनुमति दिइएको हो । भीड कम होस् भनेर बुटवल–५ को हाटबजार क्षेत्र, दीपनगर र देवीनगरको हाटबजारमा दिनहुँ बजार सञ्चालन गर्न अनुमति दिएको उपमहानगरका अधिकृत दामोदर ज्ञवालीले बताए ।

दिनहुँ बजार सञ्चालन भए पनि व्यापार नगन्य भएको हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवाली सुनाउँछन् । ‘बजार त खोलियो तर व्यापार भएकै छैन । कोरोना संक्रमण बढिरहेकाले उपभोक्ताहरू नआएका हुन सक्छन्’, उनले भने, ‘सामान नै बिक्री नभएपछि बजारमा व्यापारीहरू पनि खासै छैनन् । एउटा बजारमा १० प्रतिशत जति मात्र व्यापारी आएका छन् ।’

तिलोत्तमा नगरपालिकामा पनि सोमबारबाट हाटबजार सुरु भएको छ । देवदह र सैनामैना नगरपालिकामा हाटबजार अझै सुरु भएका छैनन् ।