close

सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ? 

सासुले गरिन् आत्महत्या, बुहारीको हत्या, तर किन र कसले ? 

Trulli
ADVERTISEMENT

गुल्मी– रेसुंगा नगरपालिका ३ भाडगाउँ अहिले शोक र तनावमा झेलिएको छ । जहाँ एकै घरमा सासु झुण्डिएको अवस्थामा र बुहारी बीभत्स हत्या गरिएको अवस्था घर नजिकै फेला परे । 

 

सासु ५२ वर्षीया टोमकला खत्री २ फागुनमा घर नजिकै झुण्डिएकी भेटिइन् । त्यसको १९ दिनका दिन बुहारी सम्झना बोहरा घर नजिकै हत्या गरेर फालिएको अवस्थामा फेला परेपछि जिल्ला तरङ्गित बनेको छ । बोहरा २९ माघबाट बेपत्ता भएकी थिइन् । 


१९ दिनपछि शव फेला पर्‍यो । सासु आत्महत्या र बुहारी बेपत्ता भएपछि थुप्रै पटक जिल्ला प्रशासन र प्रहरी कार्यालय घेराउ र नाराबाजी भए । जिल्ला प्रहरी प्रमुख प्रबिणलाल श्रेष्ठ सोही घटनापछि सरुवा भए । 


१९ फागुनमा सम्झनाको हत्या भएको अवस्थामा शव फेला परेपछि घटनाले नयाँ मोड लिएको छ । अपराधी पत्ता नलागेसम्म माइती पक्षले शव नबुझ्ने अडान कायम राखेका छन् । मंगलबार घटनाको मुचुल्का उठाउने र पोष्टमार्टम गर्ने सहमति भएको थियो । पोस्टमार्टम भएपनि परिवारको अडान कायम रहेपछि ३ दिनदेखि शव गुल्मी अस्पताल तम्घासमा छ । 


सासु टोमकला झुण्डिएर आत्महत्या गरेपछि आन्दोलनको मुख्य पात्र मध्येकै एक लाल बहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटना झन आश्चर्यजनक बन्दै गएको छ । उनी आत्महत्या गर्ने खत्रीका देवर पर्छन् । आरोपित विरुद्ध टोमकलाका परिवारले प्रहरीमा जाहेरी दिएका छन् । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकाले अपराधमा संलग्न सार्वजनिक गर्ने योजनामा आफुहरु रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले बताए । 


शंकास्पद बयान, प्रमाण मर्‍यो 


रेसुंगा नगरपालिका ३ की ५२ वर्षीया टोमकला खत्रीले झुण्डिनु अघि प्रहरीमा दिएको बयान अनुसार २९ माघको राति घरमा तीन जना अपरिचित व्यक्ति आए । ती व्यक्तिले सासू र १४ महिने नातिलाई छुट्टै कोठामा थुने । मादक पदार्थ सेवान गरेर घरभित्र छिरेका ती व्यक्तिहरुले बुहारी सम्झना बोहोरालाई लिएर हिँडे । 


उनीहरुले कसैलाई भने ज्यान मार्ने धम्की खत्रीलाई दिए । ३० माघमा माइती पक्ष छोरी खोज्न घरमा आए । सम्झना हराएपछि दुवै पक्षले सोही दिन प्रहरीमा उजुरी दिए । १ फागुनमा प्रहरीले सासु टोमकलालाई सोधपुछ गरेर घर पठाए । छोरा नेत्र बहादुर खत्रीलाई पक्राउ गरेर हिरासत राखे  । 


सासू टोमकला २ फागुन बिहान घर नजिकै झुण्डिएको अवस्थामा फेला परिन् । अहिले आमाको त्यो बयान पनि शंकास्पद र नक्कली भएको माइती पक्षको आरोप छ । 


माइती पक्ष विरुद्ध दुरुत्साहन मुद्धा


माइती पक्षले तनाव दिएर सासुलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै सम्झनाकी आमा दुर्गा बोहरा, बुबा हिरा बोहोरा र ठुली आमा मिठु बोहोराविरुद्ध ज्वाई नेत्र खत्रीले २ फागुनमा आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गरे । छोरी बेपत्ता नै थिइन् ।


आमा दुर्गा बोहरा पायल्सको क्यान्सरले पीडित छन् । तर, प्रहरीले तीनै जनालाई पक्राउ ग¥यो । एक साता तीनै जनाले हिरासत भोगे । ‘छोरी मारेर घर नजिकै फालेर उल्टै परिवारले प्रहरी हिरासत पठाए’, ‘बुबा हिरा बहादुर बोहराले भने, ‘दैव र राज्य दुवैले अन्याय ग¥यो ।’ 


सम्झनाकी आमा दुर्गा अचेत छन् । शारिरीक पीडा, बिना कारण हिरासत र अहिले छोरी मृत अवस्थामा फेला परेपछि आमामा मानसिक समस्या समेत देखिएको सम्झनाका मामा योगेन्द्र रायमाझीले बताए । 


मेयर नेतृत्वको त्यो आन्दोलन


भाडगाउँको घटनाका विषयमा रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको नेतृत्वमा ६ फागुनमा जिल्ला प्रशासन कार्यालय घेराउ गरे । प्रमुख र थुप्रै वडाध्यक्षसहितका आन्दोलनकारीले प्रशासनको तीन वटा सुरक्षा घेरा तोडेर प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर सिडिओलाई दुव्र्यबहार समेत गरे । 


आन्दोलनकारीहरुले भाडगाउँ घर पक्षको अनुसन्धानभन्दा माइती पक्षको बढ्दा आलोचना र आन्दोलन मुल उद्धेश्य केन्द्रित गरे । तर, अहिले घटनाले तीनै नगर प्रमुख, वडाध्यक्ष र स्थानीयलाई नै प्रश्न गरिरहेको मृतक सम्झनाका छिमेकी श्रीराम महतले बताए । 


बिना प्रमाण आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गरेर दुख दिने ज्वाई, वडाध्यक्ष र आन्दोलनको नेतृत्व गर्ने  नगर प्रमुखविरुद्ध माइती पक्षले पनि मुद्धा दर्ता गर्ने योजना बनाएको महतले बताए । ‘घटना तोडमोड गर्न आन्दोलनको नाटक र माइती पक्षलाई मुद्धा दिएर दुख दिइयो,’ महतले भने, ‘झुटा मुद्धा दर्ता गर्नेहरु विरुद्ध माइती पक्ष पनि कानुनी उपचार खोज्ने पक्षमा हुुनुहुन्छ ।’


हत्याका श्रृङखला बढ्दै 


गुल्मीमा पछिल्लो समय परिवार भित्रै हत्याका घटनाको श्रृङखला बढ्दै गएका छन् । रुरु क्षेत्र गाउँपालिका–३ थानपतिकी ४२ बर्षीया मनकला ज्ञवालीले ८७ वर्षीया ससुरा नन्दलाल ज्ञवालीको ८ फागुन राति हत्या गरिन् । १० फागुनमा जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक ग¥यो । ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तोमा ठोक्काएर हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ ।
 
 
त्यस्तै गुल्मीको रेसुंगा नगरपालिका १४ पराल्मीका ४५ वर्षीय तुल बहादुर विक ३ माघ, २०७७ मा छातीमा चार वटा बन्दुकका छर्रा लागेको अवस्थामा मृत फेला परे । सँगै घाँस काट्न गएकी ४५ वर्षीया गीताले पनि बन्दुक हान्नेहरुको पत्तो पाइनन् । दिउँसै बन्दुकले हानेर विकको हत्या भएपछि स्थानीय त्रासमा छन् । तर हत्यामा संलग्न फेला परेका छैनन् । 


अपराधको रेड जोनमा इस्मा 

 

इस्मा गाउँपालिका–४ दोहली बाँझका २५ वर्षीय अनिल बस्नेतले ६० वर्षीय बुबा दिल बहादुर बस्नेतको १८ असोज, २०७७ मा बिभत्स हत्या गरे । हत्या गरेर फरार बस्नेतलाई प्रहरीले पक्राउ ग¥यो । उनी अहिले पुर्पक्षको लागि जिल्ला कारागार गुल्मीमा छन् । 


त्यस्तै इस्मा गाउँपालिका २ पालुखाका ४६ वर्षीय टेकबहादुर कुमाललाई छोरा २९ वर्षीय अर्जुन कुमालले गत २७  चैत, २०७६ मा हत्या गरे । उनले घरयासी विवादका कारण बुबाको हत्या गरेका हुन् । कुमाललाई जिल्ला अदालत गुल्मीबाट १० वर्षको जेल संजाय तोकिएको छ । उनी अहिले जिल्ला कारागार गुल्मीमा छन् । 


इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पानीकी ७६ वर्षीया कौशिला विकलाई गहनाको लोभमा दुईजना बुहारी मिलेर१७ पुस, २०७६ मा बीभत्स हत्या गरे । घटना लुकाउन गोरुले हानेको भनेर गाउँ गुहारे । 


रहस्य खुल्दै गएपछि २८ वर्षीया लक्ष्मी बिक र २३ वर्षीया देबी बिक पक्राउ परे । अहिले दुवै जना जेल चलान भएका छन् । इस्मा गाउँपालिका–१ का मोती बहादुर कुँवरको २१, भदौ, २०७७ भदौ २१ गते हत्या भयो । होटल व्यवसाय सञ्चालन गरेका कुँवर आफ्नै पसलमा रगताम्य अवस्थामा मृत भेटिए । तर, अहिलेसम्म हत्यामा संलग्न पक्राउ परेका छैनन् । 

 

रुरु क्षेत्र गाउँपालिका ३ को पछिल्लो हत्याको घटनासँगै जिल्लामा एक वर्षमा चार जनाको परिवार भित्रकै व्यक्तिबाट हत्या भएको छ । जसमा तीन वटा घटना इस्मा गाउँपालिका भित्रैका छन् । 


जिल्लामा १२ स्थानी तह मध्ये इस्मा गाउँपालिकामा अपराधका घटना बढी देखिएका छन् । एक वर्षको अवधिमा मात्रै ४ बीभत्स हत्या इस्मामै भएका छन् । त्यो बाहेक घरेलु हिंसाका घटना पनि इस्मामा धेरै हुने गरेका छन् । 


गत वर्षसम्म बलात्कारका मुद्धा पनि अत्याधिक थिए । सवै घटनाको प्रमुख कारण घरेलु मदिरा भएकाले आफुहरुले पूर्ण नियन्त्रणको कोसिस गरिरहेको भएपनि सवैबाट सोचे अनुसारको साथ नपाएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन् । 


समस्या न्यूनिकरणमा सामुदायिक सहयोग

 

अपराधका घटना न्यूनिकरणमा समुदायकै सहयोग आवश्यक छ । अपराध जन्मने र अपराधी लुकाउने दुवै ठाउँ समाजमै भएकाले समुदायको सहयोग बिना प्रहरीले केही गर्न नसक्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्येयले बताए । 


जिल्लामा अपराधको कारकका रुपमा मदिरा देखिएकाले प्रहरीले मात्रै नियन्त्रण नगरेर समुदायस्तरमा स्थानीय तहले सचेतना सञ्चालन गर्नुपर्नेमा पाण्डेयले जोड दिए ।