close

मन्त्री र माननीयको क्षेत्रमै सडकको बेहाल

बीच सडकमै बग्छन् पानीका भल

मन्त्री र माननीयको क्षेत्रमै सडकको बेहाल

बीच सडकमै बग्छन् पानीका भल

Trulli
ADVERTISEMENT

गुल्मी– रुद्रवेणी–वामीटक्सार सडक जिल्लाकै पुरानो र व्यस्त सडक हो । तर, वर्षौं पुरानो सडकको दुर्दशा कहिल्यै फेरिएन । बरु मन्त्री, नेता र सडक कार्यालयका थुप्रै हाकिमहरू फेरिए ।


यो सडकबाट दैनिक गुल्मी र बाग्लुङका सयौँ गाडी आउजाउ गर्छन् । यो सडकले नेता नपाएको होइन । तर, कामले प्राथमिकता पाएन । रुद्रवेणी–वामीटक्सार सडक परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री गोकर्ण विष्ट र लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालको निर्वाचन क्षेत्रमा पर्छ ।


मैना भण्डारी, चन्द्र भण्डारी, कृष्ण छन्तेल, सुर्वण ज्वारचन, कमलराज श्रेष्ठ, खड्ग केसीलगायत वर्तमान र पूर्व दुवै माननीय पनि सोही क्षेत्रका हुन् । यो सडकमा कामभन्दा राजनीति रंग बढी देखिएको छ । बरु गाउँ–गाउँमा बाटाले पाटा गए । तर, मुख्य सडकलाई कसैले नहेरेको मुसिकोट नगरपालिका वडा नम्बर ५ का युवराज भण्डारीले गुनासो गरे । 


केन्द्रमा पहुँच भएका मन्त्री र नेताको नाम सम्झँदा गर्व लाग्ने भए पनि गाउँको सडक देखेर दया लाग्ने उनको भनाइ छ । सबै पार्टीले चुनावी घोषणापत्रमा कालोपत्रे गर्छन् । तर, वास्तविक सडकको स्थिति दुर्भाग्यपूर्ण छ । सडकमा गाडी डुब्ने खाडल छन् । केही ठाउँमा सडकको नामोनिशानै छैन । केही ठाउँमा बल्लतल्ल गरिएको ग्राभेल पिच उक्किएर कच्चीभन्दा फरक छैन ।


केही खण्डमा काम भए पनि गुणस्तरका विषयमा स्थानीय सन्तुष्ट छैनन् । ४० किलोमिटरको रुद्रवेणी–वामीटक्सार–दरमखोला सडकको कन्तबिजोक देखेर नागरिक निराश छन् भने चालकहरू ज्यानकै बाजी थापेर रातदिन गाडी चलाउन बाध्य भएको गाडी चालक मनोज थापाले गुनासो गरे ।


उल्लीखोला, चिउरेनीलगायत स्थानको विकल्प नहुँदासम्म दुर्घटनाको जोखिम कायमै रहेको उनको अनुभव छ । रुद्रवेणीदेखि वामी हुँदै दरमखोलासम्मको ४० किलोमिटर सडकमा थुप्रै निर्माण व्यवसायीले काम गरेका छन् तर गुणस्तरीय काम कुनै खण्डमा भएका छैनन् ।


रुद्रवेणी–लुम्दीखोला, लुम्दीखोला–नादेवा, नादेवा–चोरकाटे, मजुवा–आँपचौर–वामीटसार गरेर विभिन्न खण्डको काम सडक पूर्वाधार विकास कार्यालय शिवपुर रूपन्देही र सडक डिभिजन कार्यालय पाल्पामार्फत भइरहेका छन् ।


पहिलो खण्डका रौताहा हरिहरी जेभीले सडक स्तरोन्नति र ग्राभेलको काम गरेको छ । तर, बीच सडकबाट पानीका भल बग्छन्, नाली पुरिएको सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले जानकारी दिए ।


अर्को खण्डमा काम गरेको गर्जुमुखी कन्स्ट्रक्सनको गति पनि मनलाग्दी छ । दुवै निर्माण कम्पनीले सम्झौताअनुसारको कामै गरेका छैनन् । सडक स्तरोन्नति र पिचको काम गर्ने जिम्मा पाएका निर्माण व्यवसायीले समयमै प्रभावकारी र गुणस्तरीय काम नगरेको ढकालले गुनासो गरे ।


तर, योजना कार्यान्वयन गर्ने निकाय मौन छ । सडक पूर्वाधार कार्यालय शिवपुरका इन्जिनियर गौतम देवले पहिरो र बजेटको कारण देखाएर कार्यालयको बचाउ गरे । ‘काम गर्ने साइटमा पहिरो गएर समस्यामा थियौँ । अहिले निर्माण व्यवसायीले काम थालेका छन्,’ उनले भने, ‘बजेटले पनि समस्या थप्यो ।’


रुद्रवेणी–वामी–दरमखोला सडकअन्तर्गत मुसीकोट नगरपालिकाको वडा नम्बर ५ तल्लाफाँटादेखि वामी हुँदै दरमखोलासम्म २ वटा ठेक्कामार्फत १६ किलोमिटर सडक ग्राभेल भएको छ । 


ग्राभेल भएको २ वर्षसम्म कालोपत्रे नभएकाले अहिले कच्चीभन्दा फरक छैन । रुद्रवेणी–वामीटक्सार–दरमखोला सडकअन्तर्गत नादेवा र उल्लीखोला–शाहघाट सडक खण्डअन्तर्गत डहरेखोला समस्याले बर्सेनि हैरानी खेप्नु परेको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले गुनासो गरे । 


२ निर्माण व्यवसायीको विवादले चोरकाटे–मजुवा सडक खण्डको चिउरेनीमा सडक निर्माणको काम अलपत्र छ । नादेवा खण्ड अलपत्र पारेका निर्माण व्यावसायी गुमनाम भएपछि अहिले अर्कैले काम गरिरहेका छन् । 


विभिन्न ठाउँमा कल्भर्ट, पुल, सडक स्तरोन्नति, ग्राभेल र पिचका लागि ठेक्का सम्झौता भए पनि योजना कार्यान्वयन गर्ने निकायको मौनताले स्थानीय सरकारका प्रमुखहरूले पनि हैरानी खेपिरहेका छन् । मुसिकोटका नगरप्रमुखा सोमनाथ सापकोटाले शिवपुर सडकमार्फत सम्झौता गरिएका पुराना योजनाका काम अलपत्र परेको बताए । 


कार्यान्वयन गर्ने निकायमा पटक–पटक ध्यानाकर्षण गराए पनि केही उपलब्धि नभएको उनले सुनाए । निर्माण व्यवसायी र योजना कार्यान्वयन गर्ने निकायको विभिन्न बहानामा महत्त्वपूर्ण सडक अलपत्र परिरहेको छ । 


‘मन्त्री तथा नेताहरू त्यही धुलाम्य र हिलाम्ये सकडसँग वर्षौदेखि राजनीति गरिरहेका छन् । नेताहरू काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही र योजना कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका विषयमा किन बोल्दैनन् ?’ स्थानीय भन्छन् ।