close

पूर्वी पहाडका १४ स्थानीय तहमा रेडपान्डा संरक्षण कार्यक्रम 

पूर्वी पहाडका १४ स्थानीय तहमा रेडपान्डा संरक्षण कार्यक्रम 

Trulli
ADVERTISEMENT

पाँचथर– पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङका १४ स्थानीय तहमा समुदायमा आधारित रेडपाण्डा कार्यक्रम सञ्चालित छ । 

 

पीआईटी (पाँचथर–इलाम–ताप्लेजुङ) करिडोर बनाएर रेडपान्डा नेटवर्कले गैरसरकारी संस्थासँगको सहकार्य तथा स्थानीय तहसँग समन्वय गरी प्राकृतिक बासस्थानमा रहेका क्षेत्रमा रेडपान्डा संरक्षणको काम गरिरहेको जानकारी दिइएको छ ।

 

पाँचथरका ३, ताप्लेजुङका ७ र इलामका ४ स्थानीय तहमा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम संयोजक वाङचु भुटियाले जानकारी दिए ।

 

३ वटा गैरसरकारी संस्थासँग मिलेर संरक्षणका विभिन्न काम भइरहेको उनले बताए । स्थानीय तहसँगको समन्वयमा संक्षणका कार्यक्रम अघि बढिरहको उनको भनाइ छ । संकटापन्न वन्यजन्तुको रूपमा रहेको रेडपान्डाको संरक्षणका लागि समुदायलाई सचेत गराउने, अध्ययन–अनुसन्धान गराउने कार्यक्रम सञ्चालन भइरहेका हुन् ।

 

कार्यक्रम सञ्चालन गर्न जिल्लामा रहेका साझेदार गैरसरकारी संस्थाका निम्ति सन् २०२१ मा पाँचथरका लागि ७२ लाख ८७ हजार, इलाममा ६४ हजार ५४ लाख र ताप्लेजुङका लागि ८७ लाख ८७ हजार रुपैयाँ बजेट रहेको जानकारी दिइएको छ ।

 

३ जिल्लामा समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सन् २००७ बाट सुरु भएको हो । सरकारले रेडपान्डा संरक्षणका लागि पञ्चवर्षीय कार्ययोजना बनाएर कार्यान्वयन गरिरहेको छ । संरक्षण सचेतना, अनुसन्धान, जीविकोपार्जन, पर्यटन प्रवद्र्धन र क्षमता विकासका काम भइरहेका छन् ।

 

स्थानीय तहले नीति बनाएरै संरक्षणको काम अघि बढाउनुपर्ने जानकार बताउँछन् । ‘स्थानीय तहमा संरक्षणका काम गर्नुपर्छ भन्ने धारणा छ । तर, नीति बनाएर अघि बढ्दा मात्र प्रभावकारी हुन्छ’, दीपज्योति युवा क्लब पाँचथरका कार्यकारी निर्देशक सुनील वान्तवा भन्छन्, ‘वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्छ । विकास निर्माणका काम गर्दा वन तथा वन्यजन्तुलाई ख्याल गर्न आवश्यक छ ।’


रेडपान्डासम्बन्धी अनुसन्धान गर्ने, स्थानीयलाई वनप्रतिको निर्भरता घटाउँदै आयाआर्जनका विकल्प खोज्ने, विद्यालय स्तरबाटै सचेतना जगाउनेजस्ता कार्यक्रम सञ्चालन भएका छन् । समुद्री सतहदेखि २ हजार २ सय मिटरभन्दा माथि ४ हजार ८ सय मिटरसम्म पाइने रेड पान्डालाई हाब्रे पनि भनिन्छ । 

 

रेडपान्डाको प्राकृतिक बासस्थान नेपाल, भारत, भुटान, चीन, बर्मामा रहेको बताइन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले रेडपान्डालाई सन् १९९६ सालदेखि संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

 

इलाम, पाँचथर र ताप्लेजुङमा रेडपान्डा पाइने क्षेत्रका विद्यालयमा कक्षा ६ र ७ मा संरक्षण शिक्षा पढाइ हुन्छ । स्थानीय पाठ्यपुस्तक बनाएर पाँचथरका १०, इलामका ८ र ताप्लेजुङका ५ विद्यालयमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालनमा छ । वन क्षेत्रको अनुगमन, क्यामेरा ट्याप, जिपिएस कलरिङलगायका काम भइरहेका छन् ।