close

स्थानीय पाठ्यक्रम निर्माण गर्दै राप्ती

स्थानीय पाठ्यक्रम निर्माण गर्दै राप्ती

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणका लागि विषयवस्तु छनोट गर्न कार्यशाला आयोजना गरिएको छ ।  आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयारीस्वरूप विषयवस्तु छनोट गर्न कार्यशाला आयोजना गरिएको हो । 


राप्ती गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष, क्रियाशील राजनीतिक पार्टीका प्रतिनिधि सहभागी कार्यशालामा शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक विश्वास विकले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्य र उपाध्यक्ष जगदम्बाकुमारी चौधरी सहभागी कार्यशालामा आगामी शैक्षिक सत्रलाई लक्षित गरी स्थानीय पाठ्यक्रम निर्माण गर्ने योजना छ । 


पहिलो दिन स्थानीय पाठ्यक्रम निर्माणका लागि विषयवस्तु छनोटसम्बन्धी कार्यविधि, २०७७ को आधारमा स्थानीय तहमा पाठ्यक्रम निर्माणका लागि अभ्यास गरिएको छ भने आगामी थप २ दिन विषयविज्ञ तथा स्थानीय पाठ्यक्रम निर्माण विज्ञ सहितको कार्यशाला गरिनेछ ।

 

स्थानीय पाठ्यक्रमको अवधारणा, स्थानीय पाठ्यक्रमको सन्दर्भ, स्थानीय पाठ्यक्रमको सिद्धान्त, स्थानीय पाठ्यक्रमको सन्दर्भमा अन्तर्राष्ट्रिय परिदृश्य, स्थानीय पाठ्यक्रमका तत्त्व तथा मान्यता, स्थानीय पाठ्यक्रम निर्माणका सैद्धान्तिक आधार, स्थानीय पाठ्यक्रमको विकास, निर्माण र कार्यान्वयनका चुनौती, स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको औचित्य, स्थानीय पाठ्यक्रमको ढाँचाबारे कार्यशालामा छलफल गरिएको युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत वासुदेव खनालले जानकारी दिए । 


पाठ्यक्रम निर्धारण वैज्ञानिक, विश्वसनीय र समयसीमाभित्र शिक्षण गर्न सकिने गरी तयार गरी विद्यार्थीको उमेर, अवस्था, बाल मनोविज्ञान, सिकाइ स्तरजस्ता विषयलाई ध्यान दिइने उनले बताए ।