close

अब घोडा र साइकलबाटै प्यारीबाराही ताल घुम्न सकिने 

अब घोडा र साइकलबाटै प्यारीबाराही ताल घुम्न सकिने 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको पर्यटकीय स्थल घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने ‘साइकल र पोन्नी ट्रेक (घोडा मार्ग)’ निर्माणको तयारी भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल पदमार्गमा प्रदेश सरकारले पूर्वाधार निर्माण सुरु गर्न लागेको हो । 


घोडेपानी अन्नपूर्णको वडा नम्बर ६ र प्यारीबाराही ताल वडा नम्बर ७ मा अवस्थित छ । घोडेपानी भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण सुरु गर्न लागेको उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले जानकारी दिए । 


‘घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ट्रेकका साथै चरा अवलोकन स्थल बनाउन लागिएको हो’, उनले भने, ‘चालू आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी उपभोक्ता समिति गठन गरेर कार्यान्वयनको प्रक्रिया अघि बढाएका छाँै ।’


अन्नपूर्णका अध्यक्ष डमबहादुर पुनले घोडेपानी–प्यारीबाराही पदमार्गमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको बताए । फरक–फरक ठाउँमा निर्माण गरिने डेढ मिटर फराकिलो पदमार्गको दूरी ३/३ किलोमिटरको हुनेछ । डिभिजन वन कार्यालयसँग बिहीबार घोडेपानीमा उपभोक्ता समितिले सम्झौता गरेको हो ।


लालीगुराँसको घना जंगलको बीचमा समथर चउर भएको तल्लो र उपल्लो कालीसारमा चरा अवलोकन स्थल बनाउन लागिएको छ । सो स्थलबाट गुराँसे जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण रेञ्जका हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यसैगरी कालीसार र भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला बनाउने योजना छ । 


डिभिजन कार्यालय म्याग्दीमार्फत योजना कार्यान्वयन गर्न लागिएको छ । घोडेपानी आसपासका सम्भावित नयाँ पर्यटकीय गन्तव्य स्थानमा पूर्वाधार विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने उद्देश्य रहेको कार्यालयका निमित्त डिभिजनल वन अधिकृत सन्तोष खनालले बताए । 


घोडेपानी र प्यारीबाराही क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ । यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको बसोबास छ । जैविक विविधताका हिसाबले पनि यो पदमार्ग आकर्षक छ । 


पूर्वाधार तयार भएपछि घोडेपानीबाट पर्यटक घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान आउन सक्छन् । जंगलको बीचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ । तालमा हिमालको छाया देखिन्छ । 


प्यारीबाराही ताल वरपर फुड टे«ल बनाउन डिभिजन वन कार्यालयले घराम्दी सामुदायिक वन उपभोक्ता समूहसँग सम्झौता गरेको छ । ३ सय ६० मिटर लामो पदमार्ग बनाउने लक्ष्य छ । पदमार्ग निर्माणका लागि उपभोक्ता समूहलाई ३ लाख ८४ हजार रुपैयाँ उपलब्ध गराइने सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए ।  जनैपूर्णिमा पर्वमा यहाँ पूजाआजा गरे मनोकांक्षा पूरा हुने विश्वास छ । करिब २ सय मिटर लम्बाइ र १ सय मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ ।