close

राप्तीका स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई उपाध्यक्षको कोसेली 

राप्तीका स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई उपाध्यक्षको कोसेली 

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिकाका स्वास्थ्य चौकीमा सुत्केरी हुने आमालाई उपाध्यक्ष कोसेली दिन थालिएको छ । राप्तीमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाइमा बच्चा जन्माउने आमा र नवजात शिशुलाई उपाध्यक्ष कोसली दिन थालिएको हो । बिहीबार कार्यक्रम आयोजना गरी लालमटिया र सिसहनिया स्वास्थ्य चौकीबाट कोसेली कार्यक्रम उद्घाटन गरिएको हो ।

 

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसी, वडा नम्बर ५ का वडाध्यक्ष गोवद्र्धन रावत, निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी, स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्कालगायतको सहभागितामा उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले सुत्केरीलाई कोसेलीस्वरूप सामग्री प्रदान गरेकी थिइन् ।

 

संस्थागत प्रसूतिलाई थप प्रोत्साहित गरी मातृ मृत्यु तथा नवशिशु मृत्यु कम गर्न उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

 

राप्तीअन्तर्गतका बर्थिङ सेन्टरमा प्रसूति भएको समय उपाध्यक्ष कोसेली दिइनेछ । उपाध्यक्ष कोसेलीअन्तर्गत पेटीकोट १ पिस, पेन्टी १ पिस, स्यानिटरी प्याड १ प्याकेट, नङकट १ पिस, लुगा धुने सर्फ आधा किलो, जोन्सन बेबी सोप १ पिस, जोन्सन बेबी पाउडर १ पिस, जोन्सन बेबी आयल १ पिस राखिएको छ ।

 

गाउँपलिकामा संस्थागत सुत्केरी हुने अवस्था बढाउन, आमा तथा नवजात शिशु मृत्युलाई कम गर्न आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा सञ्चालन गरिँदै आएको छ । 

 

आमा सुरक्षा कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टरबाट निःशुल्क २४ सै घन्टा प्रसूति सेवा, न्यानो झोला वितरण, गर्भजाँच भएकालाई गर्भवती उत्प्रेरणा, संस्थागत सुत्केरी हुने हरेक महिलालाई यातायात खर्च, ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराए १ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको छ । 

 

शून्य होम डेलिभरी वडा घोषणा कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरिएको छ । घरमा हुने सुत्केरी हुन क्रम घटाई संस्थागत प्रसूतिलाई प्रोत्साहन गर्न ४ पटक गर्भ जाँच, सुत्केरी तथा नवजात शिशु स्याहारबारे जानकारी दिई प्रसूतिपछि हुने जोखिम कम गर्न कोसेली कार्यक्रम सुरु गरिएको गाउँपालिकाले बताएको छ ।