close

साक्षर पालिका बन्दै नरैनापुर

साक्षर पालिका बन्दै नरैनापुर

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको नरैनापुर गाउँपालिकालाई आगामी वैशाख मसान्तसम्म साक्षर पालिका घोषणा गरिने भएको छ ।  गाउँ शिक्षा समितिको बैठकले साक्षर नेपाल घोषणा गर्ने नेपाल सरकारको अभियानअनुरूप नरैनापुरलाई वैशाखसम्म साक्षर पालिका घोषणा गर्ने निर्णय गरेको हो ।

 

जिल्ला समन्वय समिति बाँकेसँगको प्रतिबद्धता एवं गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम ‘साक्षरता तथा अभिभावक शिक्षा’ अन्तर्गतको कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिए ।


‘साक्षर पालिका नरैनापुर, बनाउँछौँ साक्षर छैन दूर’ साक्षरता अभियानको मूल नारा गाउँपालिकाले तय गरेको छ । अभियानलाई सफल बनाउन गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहको संयोजकत्वमा पालिकास्तरीय मूल समिति बनाइएको छ ।

 

मूल समितिको सदस्यमा गाउँपालिकाका सम्पूर्ण सदस्य, गाउँ शिक्षा समितिका सदस्य, मुख्य राजनीतिक दलका प्रतिनिधि, माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक र सञ्चारकर्मी छन् ।

 

साक्षरता अभियानमा पालिकामा कार्यरत कर्मचारी, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मी तथा पालिकामा कार्यरत संघ–संस्थाका कर्मचारी तथा माध्यामिक तहका सम्पूर्ण विद्यार्थीलाई सक्रिय रूपमा परिचालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए । साक्षर अभियन्ताका रूपमा महेन्द्र माध्यमिक विद्यालय मटेहियाका पूर्वप्रधानाध्यापक पेशकार सिंहलाई चयन गरिएको छ ।

 

पालिकास्तरीय समितिका अलावा वडा–वडामा वडाध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्यसचिव रहने गरी ३ सदस्यीय अनुगमन समिति गठन गरी अनुमगन गरिने प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।

 

यो अभियानलाई प्रभावकारी बनाउन ब्यानर, पर्चा, पम्पलेट तथा माइकिङलगायत क्रियाकलाप गर्ने निर्णय गरिएको छ । साक्षरता अभियानमा मुख्य साझेदार संस्थाका रूपमा नेपाल दलित उत्थान संघ बाँके रहनेछ ।


साक्षरतासम्बन्धी प्रचलित मापदण्ड पूरा हुने गरी कार्यक्रम सञ्चालन गरी पालिकाको प्रतिनिधिको रोहबरमा हस्ताक्षर संकलन ब्यानरमा हस्ताक्षर गराई साक्षर भएको घोषणा गरिने शिक्षा शाखा प्रमुख थारुले जानकारी दिए ।

 

गाउँपालिका अध्यक्ष एवं साक्षर अभियान मूल समितिका संयोजक शाहले गाउँपालिकाले थालेको यो अभियानमा सक्रियतापूर्वक सहभागिता जनाई महाअभियानलाई सफल बनाउन सबैमा अपिल गरेका छन् ।